सरकार र चिकित्सकको वार्ता मिलेन

देशभर स्वस्थ्य सेवा प्रभावित

काठमाडौं, ९ असोज । नेपाल चिकित्सक संघको आहृवानमा देशभरका अस्पताल तथा स्वास्थ्य संस्था बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारी निर्णय विरोधमा संघले चौतर्फी विरोधलाई बेवास्ता गर्दै अस्पताल तथा स्वास्थ्य संस्था बन्दलाई निरन्तरता दिँदा उनीहरु मर्काकामा परेका छन् ।

सरकारले केही दिनअघि चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकले नै क्षतिपूर्र्ति तिर्नुपर्ने कानुन निर्माण गर्ने निर्णय गरेकोप्रति विरोध गर्दै चिकित्सक यसरी आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवा ठप्प छन् । सोमबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए पनि माग पूरा गर्ने भन्दै आन्दोलन स्थगित गरेर सेवामा फर्किन आन्दोलनरत चिकित्सकलाई अनुरोध गरेको थियो । तर चिकित्सक संघले भने मन्त्रिपरिषदको आग्रहलाई गैरजिम्मेवार अभिव्यक्तिको रुपमा टिप्पणी गरेको छ । संघले सोमबार अपराहृन विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम जारी रहने घोषणा गरेको हो ।

‘मन्त्रिपरिषद्को आकस्मिक बैठकले केवल विज्ञप्ति जारी गरी स्वास्थ्यकर्मी तथा चिकित्सकको आन्दोलनलाई कुनै ठोस प्रतिबद्धताबिना फिर्ता गराउन मात्र लक्षित गर्दै अत्यन्तै गैर जिम्मेवार रुपमा प्रस्तुत भएकोमा नेपाल चिकित्सक संघ आपत्ति प्रकट गर्दछ’-संघद्वारा जारी विज्ञप्तिमा जनाएको छ । देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लीनिक लगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय कायम रहेको विज्ञप्तिमा भनिएको छ ।

त्यसअघि नेपाल चिकित्सक संघर स्वास्थ्य मन्त्रालयका अधिकारीबीच भएको वार्ता बिनानिस्कर्ष टुंगिएपछि दबाब स्वरुप स्वास्थ्य मन्त्रालय घेराउ गरिएको थियो । वार्ता बिनानिस्कर्ष टु·एिपछि चिकित्सकले स्वास्थ्य मन्त्रालय घेराउ गरेका हुन् । उनीहरु एप्रोन र हातमा कालोपट्टीसहित प्रदर्शनमा उत्रिएका थिए । स्वास्थ्य मन्त्रालय घेराउ गर्न सरकारी तथा निजी अस्पतालका दुर्इ सय भन्दा बढी चिकित्सक पुगेका थिए । उपत्यका बाहिरका स्वास्थ्यकर्मीलेे भने सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय घेराउ गरेका संघका महासचिव लोचन कार्कीले जानकारी दिए ।

यसैबीच, सरकारले स्वास्थ्य सेवा बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ । सोमबारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा लगायत मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने आश्वासन दिँदै स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सूचना तथा सञ्चारमन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिक बाहेक देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा मन्त्रिपरिषद्मा गम्भीर छलफल भए पनि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको भ्रमणमा रहेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट संघको माग टुङ्ग्याइने निष्कर्ष निकालिएको छ । सरकारले यही असोज २ गते चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बिमा र क्षतिपूर्र्ति लगायत आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । त्यो निर्णय फिर्ता लिनुपर्ने लगायत तीनबुँदे माग राखी संघ आन्दोलनरत छ ।

- अादर्श समाज सम्वाददाता