हवाई आमक्रणमा ८४ सर्वसाधारण मारिए

बेरुत, ९ असोज । इस्लामिक स्टेट्सको बलियो प्रभाव रहेको सिरियाको राका शहरनजिकै भएको अमेरिका आवद्ध हवाई आक्रमणमा कम्तीमा ८४ सर्वसाधारण मारिएका छन्. ।

मारिएका यी ८४ व्यक्तिमा दर्जनौको संख्यामा बालबालिका रहेका ‘हृयुम्यान राइट्स वाच’ -एचआरडब्लू) ले जानकारी दिएको छ ।

यस आक्रमणमा परी आईएस लडाकू पनि मारिएका छन् । तर ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको एचआरडब्लूले जानकारी दिएको छ ।

यस आक्रमणमा परी विद्यालयमा शरणार्थीकै रुपमा रहेका दर्जनौँ सर्वसाधारण मारिएका छन् । अमेरिका आवद्ध संयुक्त सेनाले यस इलाकामा सर्वसाधारण नागरिक भएको थाहा नभएको जानकारी दिएका छन् ।

एचआरडब्लूका अनुसार गत मार्च २० मा भएको मानसोउराहस्थित एक विद्यालयमा भएको हवाई आक्रमणमा १६ बालबालिकासहित ४० व्यक्तिको मृत्यु भएको थियो ।

त्यसैगरी तब्का बजार नजिकै मार्च २२ मा भएको अको एक आक्रमणमा १४ बालबालिकासहित ४४ व्यक्तिको मृत्यु भएको थियो ।

अमेरिका आवद्ध संयुक्त सेनाले सन् २०१४ को सेप्टेम्बरबाट सिरियामा हवाई आक्रमण शुरु गरेको छ ।

सिरिया र इराकमा सन् २०१४ देखि गत अगस्तसम्म अमेरिका आवद्ध संयुक्त सेनाले गरेको आतंककारी लक्षित हवाई आक्रमणमा परी कम्तीमा छ सय २४ जना सर्वसाधारण मारिएका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारको विरोध गर्दै शुरु जनआन्दोलन थालिएको थियो ।

त्यस जनआन्दोलनले पछि गृहयुद्धको रुप लिएको हो । हालसम्म यहाँ तीन लाख ३० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यस गृहयुद्ध अलकायदा र इस्लामिक स्टेट्स जस्ता आतंककारी समूहहरु हाबी हुँदै आएका छन् ।

- रासस