मातृभूमि सहकारीको सातौं साधारण सभा

पोखरा, ९ असोज। मातृभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखराको सातौं वाषिर्क साधारण सभा सम्पन्न भएको छ।

साधारण सभा उद्घाटन गर्दै सभासद टुकराज सिग्देलले सहकारी ऐनले सहकारी अभियानमा रहेका केही अवरोधलाई सहज बनाएको उल्लेख गरे। उनले सरकारी, निजी र सहकारीको पुँजी एकीकृत गरी लगानी गर्न सकियो भनेमात्र देश सम्मृद्धितर्फ अगाडि बढ्ने बताउ ।

उनले सहकारीमा सेयर सदस्यको जति सक्रिय सहभागिता हुन्छ, उति नै छिटो सहकारीको गुणस्तर वृद्धि हुने बताए।

सभासद वृन्दा रानाले सहकारी मार्फत सदस्यको पहुँचमा सेवा पुर्‍याउनु नै सहकारीको मूल मर्म रहेको बताइन्।

गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रनाथ पौडेलले कास्कीलाई सहकारी पर्यटनका रुपमा विकास नै अबको लक्ष्य रहेको बताए।

संस्थाका अध्यक्ष श्रीकान्त शर्मा खतिवडाले संस्थागत नमूना सहकारीको रुपमा पहिचान बनाउन संस्था सफल भएको बताए।

कार्यक्रममा सुप्रिम सहकारी तनहुँका अध्यक्ष तेजकुमार मल्ल, सञ्चय सहकारीका अध्यक्ष नारायण कार्की, तनहुँ सर्म्पर्क समाज पोखराका अध्यक्ष शिवराज पौडेल, न्यायाधीश सूर्यबहादुर थापा, ज्येष्ठ सदस्य कुलप्रसाद खनाल, सेयर सदस्य कृष्णराज भट्टराई, चन्द्रवती अधिकारी वाग्लेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यस्तै, सहकारीले ७० वर्ष उमेरमाथिका सेयर सदस्य कुलप्रसाद खनाल, टीकादत्त मिश्र असल बचतकर्ता र नियमित कारोबारीमा सर्वजित अधिकारी, सरिता पोखरेल, योगराज वाग्ले, प्रेमकुमारी थापा र संस्थालाई योगदान पुर्‍याएकोमा सदस्य इच्छाबहादुर वाग्लेलाई सम्मान गर्‍यो ।

सहकारी अध्यक्ष श्रीकान्त शर्मा खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इश्वरप्रसाद सुवेदीले गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन भरत केसी र लेखा समितिको प्रतिवेदन संयोजक यामबहादुर सुखालीले प्रस्तुत गरेका थिए।

तनहुँ सर्म्पर्क समाज पोखराद्वारा स्थापित उक्त सहकारीमा पाँच सय ५४ जना सेयर सदस्य छन् भने सहकारीको कुल सेयर पुँजी दुर्इ करोड ५३ लाख रुपैयाँ छ।

- अादर्श समाज सम्वाददाता