सन्तद्वयका शान्त ‘बुद्ध’

पोखरा, ९ असोज साँघुरो बाटो । अलिक टाढा टिनको छाना भएका घरहरु लहरै छन् । केही हुल मानिस बेलाबेलामा भित्र छिरेका देखिन्थे । कसैका मुखमा ‘बुद्धको घर’ शब्द झुन्डिन्थे । अरु दिनभन्दा पोखरा बास्तोलाथरको त्यो भित्री सडक बढी नै व्यस्त थियो । किनकि उही हिजो कमैले चिन्ने, आज कमैले नचिन्ने ‘नेपाल आइडल’ बुद्ध लामाको घर त्यहीं पर्दछ । मध्यरातमा नेपाल आइडल उपाधि जितेको खबरपछि बुद्धको घर मिडियाकर्मी मात्र होइन, आफन्त, शुभेच्छुकले घेरियो ।

बुद्धका बाबुआमालाई बधाई दिनेहरु बिहानतिर ओइरिए । ठाउँ साँघुरो, दुवैतिर टिनका छाना, सुकुम्बासी बस्तीको झल्को दिने त्यो ठाउँमा ढोका बाहिरै केक काटेर बुद्धका गुरु, जिताऔं अभियन्ता, समर्थकले खुशीयाली मनाए । उसो त बुद्धको परिवार त्यहाँ भाडामा बस्दै आएका हुन् । २०४६ सालमा धादिङबाट बुद्धका बाबुआमा पोखरा आएका हुन् ।

बुबा सन्तबहादुर, आमा सन्तमाया प्रफुल्लित मुद्रामा देखिन्थे । निमोनियाले अस्वस्थ भएका दाइ दोर्जे कोठाको झ्यालबाटै बाहिर चियाउँथे । बुद्धकै अनुहार परेको दिदी धनमाया (आँचल) आफन्तसँगै ब्यस्त थिइन् । बुद्ध जन्मेदेखि यो उपलब्धिसम्मको फेहरिस्त बताउन परिवारलाई शनिबार दिनभरजसो नै भ्याई नभ्याई थियो । नेपाल आइडल बन्नु अघि नै पोखरामा कमैले चिन्ने नाम थियो ‘बुद्ध’ । पाँच वर्षअघि बिग आइकनमा सहभागी हुँदा चौथो बनेका बुद्ध यो ठाउँमा पुग्नेमा निर्णायक ढुक्क थिए । उही बेला सुनिल थापाले बुद्धलाई भनेका थिए ‘बुद्ध लामा सानो पटका, ठूलो धमाका हुन् ।’ आखिर त्यो सानो पटाका अहिले आवाजको ठूलो धमाका बनेर विस्फोट भए । आयोजक बिग एफएमका अध्यक्ष महेश भण्डारीले त्यसैबेला उनको प्रस्तुतिपछि भनेझैं पोखरा बुद्ध लामाको पनि शहर भनेर अहिले चिनिन पुगेको छ ।

छोरो नेपाल आइडल भएको हेर्ने चाहना हरेक आमाबाबुलाई हुने नै भयो । शुक्रबार जब राति हुँदै गयो, सन्तबहादुरको आश मर्दै गयो । किनकि टेलिभिजनमा कतारको स्टेज होइन, केही दिनअघिको टुँडिखेल देखाइरहेको थियो । ‘टिभीमा पुरानोमात्र देखायो । कता फेसबुकतिर आउँछ भन्थे, सादा मोबाइलमा के हेरौं – थिएन’-निरक्षर उनी थप्छन्-‘राति पौने २ बजे बुद्धले नै फोन गरेर बा म जितेँ, नेपाल आइडल भए’नि भनेपछि म त यत्ति खुशी त भइनँ ।’

केही मिनेट ढिलै भए पनि उनीहरुलाई फरक परेन किनकि यति ठूलो खबर आफ्नै छोरोको मुखबाट पहिलोपटक सुन्न पाए । ‘झण्डै बेहोस् हुन लागेको । मन ढुकढुक भयो । रुन मन लाग्यो । अचम्मै भयो नि -’-सन्तबहार शान्त बने-‘नजितेको भए पनि के गर्ने त – यति धेरै माया पायो । सबैले चिनेको त अस्ति एक छिन आउँदैमा थाहा थियो ।’

उनले पोखरादेखि धादिङसम्म, तामाङ समाजदेखि क्षत्री, ब्राम्हण समाजसम्म सम्झिए । ‘आज मेरो छोरोले सबैको कृपाकै कारण जित्या त हो । जितेर आउ भनेर पठाएको थिएँ । हाम्रो त आशीर्वाद मात्र थियो ।’ उनले भने-‘दुनियाँको भारा मैले कहिले तिरुँला । पोखरा समाज, मेरो धादिङ समाज, तामाङ समाज, गुरुङ समाज, बाहुन समाज, क्षत्री समाज लगायत सबैलाई धन्यवाद छ ।’ उनले खुशीमा काममा पनि नगएको सुनाए । ‘सबले पार्टीखुलाउनुपर्छ भन्थे । रोपेको फल पहिले फलोस्, पाकेको फल खाम्ला नि भन्थेँ । अब खुलाम्छु नि’-खित्का छाडेर हाँसे । पोखरा लेखनाथ महानगरपालिकाको सरसफाइ विभागमा रहेर पोखरालाई २५ वर्षदेखि सफा गर्दै आएका सन्तबहादुरको दुःखको दिन अब सकिएजस्तो भान हुन्छ । झण्डै तीन दशकअघि धादिङको लापा ३ कपुरगाउँ (हाल रुबीभ्याली ५) छाडेर आएका उनले दुःख त्याग्न सकेनन् । पोखरामा ओत लगाउने झुप्रो समेत ठड्याउन सकेनन् । उनले थपे-‘धादिङबाट भोट गर्नेहरुले मन दुखाउनुभा’छ रे भन्ने सुनेँ । धादिङकै नागरिकता छ बुद्धको पनि । आफ्नो ठाउँ कहाँ बिर्सनु ? धादिङ समाजले पनि सहयोग गरेको छ ।’

आमा सन्तमायालाई छोराछोरी दुःख पाउँछन् कि भनेर सधैं पिर लाग्थ्यो । अब बुद्धको पिर टरेको छ । ‘अब पढाउन नसके पनि भोकले मर्दैन । पाँच महिनाअघि पोखराबाट गयो । कहाँ सुत्यो होला- भोकभोकै छ कि ? अझै पनि लाग्छ । आफू नखाएर हुर्काको छोरो हो’-आमाको ममता पोखिन्-‘बराल गुरुकहाँ बोकेरै पुर्‍याउँथे । जहाँ गए पनि च्याम्पियन । पढाइ पनि राम्रो ।’ पाँच महिनामा गत साता घर आउँदा पनि १० मिनेटमै सरहरुले लिएर हिँडेपछि मन नै कटक्क खाएको उनले सुनाइन् । यतिबेला उनले छोरो काठमाडौंमै भेटिसकेकी छिन् ।

सन्त दम्पतिलाई जित्न पैसो पेल्नुपर्ने थाहा भएपछि हुँदैन होलाजस्तो लागेको थियो । ‘हामी त कहाँ सक्छम् त नि ? गरे सबैले । दिनभर कमाएर बेलुका खानुपर्छ । यस्तो टिनको एउटा कोठा, त्यो पनि भाडामा बस्नुपर्छ । जिन्दगी भाडामै बित्योजस्तो लाग्थ्यो’-सन्तमायाले थपिन्-‘आशा टुटेको थियो । छोराहरुलाई मैले के गर्ने – कस्तो जिन्दगी पाएछु जस्तो लाग्थ्यो । छोराहरुलाई केही गर्न नसक्ने भएँ भनेर रुन्थेँ । आशा डुलेको थियो।’ सन्तमाया अरुका घरमा कपडा धुने, भाँडा माझ्ने गरेर घरको गजो टार्थिन् । सन्तबहादुर र सन्तमायाका कान्छो छोरो बुद्ध नामजस्तै शान्त स्वभावका छन् । उनले कसैलाई पिरेनन् । कोहीसँग रिसाएनन् । यही भन्छन्, उनका बुबाआमा, गुरुजन, साथीभाइ । एउटा दाइ विदेश छन् । अको दाइ दोर्जे अहिले बिरामीले थलिएका छन् । दिदी धनमायासँगै छिन् । भिनाजु बुद्धलाई बोकेर हिँड्छन् । बुद्धका हरेक अभावलाई पूर्र्ति गर्ने उनै भिनाजु मनोज बास्तोला हुन् । बुद्धको पहिलो खुशी भिनाजुसँगै कतारमै साटे ।

बुद्धका बाबुआमाले बुद्धभन्दा बढी प्रशंसा आफ्नै ज्वाइँ मनोजकै गर्छन् । ‘कहिल्यै केहीमा कमी हुन दिएनन् । सबैर्र् इच्छा पूरा गर्ने भिनाजु नै हो । गितारदेखि खेलकुदका सामानसम्म ।’ बुद्धकी आमा सन्तमायाले भनिन्-‘दिदी भिनाजुकै कारण बुद्धले खुट्टा टेके । जे पनि भेनाले पुर्‍याउने ।’ रेडक्रसमा लागेर सेवाभावमा समर्पित बुद्ध एसएलसी पासपछि महेन्द्र माविमै पढ्दै आएका छन् ।

बुद्ध बिग आइकनपछि पोखरामै संगीत सिकेरै बसे । पहिले तीन वर्ष त्रिवेणी संगीतालयमा नवराज बरालको प्रशिक्षणमा रहेका बुद्ध पछिल्लो समय गुरुकुल संगीतमा तीर्थराज पोखरेलसँग संगीत सिक्दै थिए । बुद्ध जिताऔं अभियानको नेतृत्व गरेर हिँडेका गुरुद्वय अहिले हर्षविभोर छन् । अहिलेजस्तो खुशी कहिल्यै नमानेको सुनाउँछन् ।

नेपाल आइडलमा सहभागी हुनुपूर्व उनी पोखराकै सबैभन्दा पुरानो दोहोरी साँझ ‘पोखरा दौतरी साँझ’मा आठ हजार रुपैयाँ मासिक तलबमा गीत गाउँथे । झण्डै दुर्इ वर्ष गीत गाएका उनी कोहीसँग नराम्रो भएनन् । गीत गाउने भए पनि वाद्यवादक नआउँदा सबै प्रकारका बाजा बजाउने क्षमता बुद्धमा छ । सञ्चालकद्वय वीरेन्द्र केसी र निर्मल भण्डारी पनि बुद्धलाई जिताउन उसैगरी तात्तिए ।

नेपाल आइडलमा पहिलो अडिसनदेखि नै निर्णायकको मनमा बसेका बुद्ध टप १८ देखि टप ३ छनौटसम्म एक पटकमात्र डेन्जर जोनमा परे । उनलाई देश विदेशबाट उल्लेख्य भोट आयो । विदेश बस्नेहरुबाट अनलाइन भोटिङमा उनले सबैलाई माथ गरे र ग्राण्ड फिनालेमा कुल भोटमा आधा बढी भोट बुद्धकै नाममा रह्यो । र, बुद्धले इतिहास रचे ‘पहिलो नेपाल आइडल’ ।

- रञ्जन अधिकारी