गण्डकी विकास बैंकलाई अवार्ड

पोखरा, ८ असोज । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लि. वेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्डबाट सम्मानित भएको छ।

न्यू विजिनेश एज प्रालिद्घारा काठमाडौमा आयोजित चौथो न्यू विज कन्क्लेभ एण्ड अवार्ड-२०१७ मा गण्डकीले वेष्ट म्यानेज्ड अवार्ड पाएको हो। उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले ग्रहण गरे ।

हाल गण्डकीसँग गाभिएको साविक फेवा फाइनान्स लि. यसअघि सन् २०१३ मा वेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ दी इयरबाट सम्मानित भएको थियो।

हाल गण्डकी विकास बैकमा गाभिएका साविकका फेवा फाइनान्स लि, विश्व विकास बैंक र गण्डकी विकास वैक लि. पोखरामा उत्कृष्ट वित्तीय संस्थाका रूपमा स्थापित थिए। गण्डकीले आव २०७३/७४ मा संचालन मुनाफा ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप १८ अर्ब ३३ करोड, कर्जातर्फ १६ अर्ब ५१ करोड पुर्‍याएको छ।

बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत छ। बैंकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँमा गरी ५५ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता