आकर्षक गाउनमा फेशन शो

पोखरा, ७ भदौ। पोखरामा भएको ‘जीवनशैली’ फेसन शोमा एकपछि अको सिक्वेन्समा आकर्षक मोडल विभिन्न फेसनमा प्रस्तुत भए । अधिकांश व्यावसायिक मोडल सहभागी उक्त फेसन शोमा विभिन्न छ सिक्वेन्समा लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनमा सजिएका मोडेल निकै आकर्षक देखिन्थे ।

आरएनआर ग्रुपले पोखरामै पहिलो पटक यस्तो फेसन शोको चाँजोपाँचो मिलाएको थियो । पोखरास्थित आई एम द बुटिककी अर्चना अर्यालद्वारा डिजाइन गरिएको लेहेंगा र साडी ओचो जिन्सका सुनिल महर्जनको क्याजुअल जिन्स र प्रिन्टेड जिन्सी तथा काठमाडौंस्थित फेसन जोनले तयार पारेको वान पिस र गाउन गरी दुर्इ/दुर्इ सिक्वेसमा मोडल उतारिए । आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले मोडलिङ क्षेत्रलाई प्रवर्द्धन तथा व्यावसायिकरुपमा विकास गर्न विभिन्न मोडलिङबारे इभेन्ट गर्दै आएको बताइन् । राजधानीमा मात्र सीमित भएको आरएनआर गु्रपको फेसन शो पोखरामा भने एचआईभी संक्रमित बालबालिकाहरुको सहयोगार्थ गरिएको संस्थाकी अध्यक्ष श्रेष्ठले बताइन् । कार्यक्रम सञ्चालन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।

यसअघि, काठमाडौं र पोखरामा भएको अडिसनबाट छानिएका १९ जना मोडेल सहभागी थिए । तीमध्ये पोखराका चार मोडल थिए । सृष्टि तामाङ, कुसुम तामाङ, मन्दिरा राज्यलक्ष्मी शाह, देविका कार्की, सीमा श्रेष्ठ, करिश्मा केसी, हेमा र आश्मा लगायतले फेशन शो गरेका हुन् । शोका लागि मोडल अडिसन लिइएको थियो । काठमाडौमा ५० जना व्यवसायिक मोडलले आवेदन दिएकोमा १५ जना र पोखरामा १५ जनाबाट चार जना छानिएका निर्णायक डब्बु क्षेत्रीले जानकारी दिए ।

- अादर्श समाज सम्वाददाता