ममता भइन् मिस पोखरा

पोखरा, ६, असोज । पोखराको सिर्जनाचोककी ममता जोशी मिस पोखरा २०१७ घोषित भएकी छन् । नागरिक पश्चिमेलीको प्रस्तुतिमा पोखरा सम्पन्नमा मिस पोखराको नवौं संस्करणमा १५ प्रतिष्पर्धीलाई उछिन्दै ममताले मिस पोखराको ताज पहिरेकी हुन् । नसिङ पेशामा आबद्ध ममताले चाँदीको ताजसँगै यामाहाको फेशिनो स्कुटर र ५० हजार रुपैयाँ प्राप्त गरिन् । उनले ‘मिस इन्टेलेक्चुअल’ टाइटल अवार्डसमेत आफ्नो पोल्टामा पारिन् ।

उपाति जितेपछि उनले निकै खुशी लागेको प्रतिक्रिया दिइन् । आफू नसिङ पेशामा आबद्ध भएको कारण पनि स्वास्थ्य क्षेत्रबाट नै गरिब दीनदुःखी तथा असहायको लागि सहयोग गर्नुका साथै आगामी दिनमा आफू सामाजिक उत्तदायित्व हुने खालका क्रियाकलापमा पनि सक्रिय हुने प्रतिबद्धता जनाइन् ।

प्रतियोगितामा २३ वर्षीया पुनम केसी फस्ट रनरअप भइन् । फस्ट रनरअप उपाधिसँगै उनले ३० हजार पाइन् ।

सिमलचौरकी १७ वर्षीया सीम्रन गुरुङले सेकेन्ड रनरअपसँगै मिस भ्युअस च्वाइस र मिस क्याट वाक टाइटलसमेत जितिन् । उनले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

१६ प्रतिष्पर्धीमध्ये दोश्रो चरणमा उत्कृष्ट १०, तेश्रोमा पाँच जना छनोट गरिएकोमा फाइनल राउण्डमा मुख्य निर्णायकले सोधेको एउटै प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तिम निर्णय आएको थियो । उपाधि दौडमा प्रतियोगीलाई लेखन र वक्तृत्वकला प्रस्तुत गर्न लगाइएको थियो ।

पोखरा जेसिसको आयोजनामा भएको मिस पोखरा २०१७ मा अन्य विभिन्न १० वटा शीर्षकमा सब टाइटल उपाधि दिइएको थियो । जसमध्ये मिस ट्यालेन्ट सञ्चिता घिमिरे, मिस फोटोजेनिक र मिस पपुलारिटी सजनी बानियाँ, मिस वेस्ट स्माइल श्रृष्टि गुरुङ, मिस वेस्ट ड्रेस वन्दना केसी, मिस वेस्ट पर्सनालिटी अर्पना सापकोटा र मिस वेस्ट हेयर शशी थापामगरले हात पारे ।

मिस नेपाल २००० एवं भिजे उषा खड्की र सञ्चारकर्मी सुरज थापाको कोरियोग्राफीमा भएको प्रतियोगिता निर्णायकमा प्रमुख निर्णायक डा एलियमा जोन, डा चैतन्य अधिकारी, उदय भट्टराई, सन्तोष पोख्रेल, नारायण शर्मा लगायत थिए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले सौर्न्दर्य प्रतियोगिताले युवतीको व्यक्तित्व र नेतृत्व विकास हुने बताए । पोखरा जेसिसका अध्यक्ष शिव कोइरालाले मिस पोखरा २०१७ भब्यरुपमा सफल भएको दाबी गरे ।

कार्यक्रममा स्वरसुन्दरमणि गायक कर्णदास, चर्चित गायक तथा संगीतकार रामभक्त जोजिजु, क्रिष्टल ब्लज डान्स ग्रुपको नृत्य प्रस्तुति रहेको थियो ।  कार्यक्रम सञ्चालन सञ्चारकर्मी जीपी तिमिल्सिना र मिस पोखरा २०१३ की फस्ट रनरअप लक्ष्मी जिसीले गरेका थिए ।

- एजेन्सी