भण्डारीको ‘छातीका घाउ’ लोकार्पण

पोखरा, ३ असोज। साहित्यकार मदन भण्डारीको उपन्यास ‘छातीका घाउ’ मंगलबार एक कार्यक्रमबीच प्राज्ञ तीथ श्रेष्ठले लोकार्पण गरेका छन्।

कृति लोकार्पण गर्दै प्रमुख अतिथि श्रेष्ठले ‘सिद्धान्तका नाममा सँगै हिँडेका साहित्यिक साथीलाई कित्ताकाट गर्ने हामीमा समस्या भएको बताए।

श्रेष्ठले भने-‘साँघुरो घेरामा जेलिएको मान्छेको विचारले समग्र जीवनलाई न्याय गर्न सक्दैन, मानिस समान भए पनि बुद्धि असमान हुन्छ, त्यसैले प्रकृतिमा सम्भव नभएका कुरा मानव जीवनमा सम्भव हुँदैन।’

कृति सर्न्दर्भमा भन्दा सिद्धान्त चर्चामा समय खचेका श्रेष्ठले मान्छेको हेर्ने दृष्टि एउटै भए पनि दृष्टिकोण फरक हुने हुँदा सिद्धान्तका पछि लाग्नु सत्य भए पनि त्यही घेरामा जीवनलाई न्याय गर्छु भन्नु बेइमानी मात्रै भएको उल्लेख गरे।

प्राज्ञ हरिदेवी कोइरालाले भण्डारीलाई पृथक पहिचान बोकेका लेखनमा इमान्दारिता भएका स्रष्टाका रुपमा चितित्र गरिन्। उनले देशका दुःख, पीडा, वेदना र घाउ नै भण्डारीका कृतिका विषयवस्तु रहेको धारणा व्यक्त गरिन्।

कृति समीक्षा गर्दै नेपाली लेखक सङ्घ कास्कीका पूर्व अध्यक्ष डा लक्ष्मीशरण अधिकारीले कृतिमा लेखकको व्यवहार र लेखनको तालमेल रहेको बताए। उनले हेप्नु र हेपिनु हुँदैन भन्ने उपन्यासकार भण्डारीको कृतिको कथानक संरचना उत्कृष्ट रहेको धारणा व्यक्त गरे। अधिकारीले कृतिलाई पठनीय बनाउन गरिएका प्रयत्नको प्रशंसा गर्दै कृति फरक शैलीसहित आएकाले कृतिलाई जुन खण्डबाट अध्ययन गरे अपुरो नहुने धारणा व्यक्त गरे।

अर्का समीक्षक सूर्य खड्का बिखर्चीले भण्डारीको कृतिमा मान्छेको छाती भित्र प्रायः मुटु छैन घाउ छ, कुण्ठा छ भन्ने दुर्इ वटा कुरामा जोड दिएको चर्चा गरे। उनले उपन्यासकारले गुणातीत, गुणवान् र दुर्र्गुणी तीन थरी पात्रलाई उभ्याएर मानिसले जस्तो आपतमा पनि स्वधर्म त्याग्नु हुन्न भन्ने सन्देश दिएको बताए।

कृतिकार भण्डारीले सिकेका कुरालाई लेखनमा उतारेकाले कृति पढेर दिइने सुझावलाई सधैँ मनन गर्ने बताए।

सङ्गम सांस्कृतिक मञ्चका कलाकारको साङ्गीतिक प्रस्तुतिद्वारा स्वागत गरिएको कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य परशुराम कोइराला, प्राडा भवानीप्रसाद पाण्डे, सांस्कृतिक रूपान्तरणका अभियन्ता हिमलाल पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए। साहित्य शृङ्खलाका संयोजक यादवराज उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रुपिन्द्र प्रभावी कटुले गरेका थिए।

- अादर्श समाज सम्वाददाता