सिटी रेवान महोत्सव शुरु

पोखरा, २ असोज। पोखरामा छैटौं संस्करणको सिटी रेवान महोत्सव तथा फुड फेस्टिभल शुरु भएको छ ।

नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित महोत्सवको कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले उद्घाटन गर्दै पोखरा सबै क्षेत्र पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको औंल्याए।

उनले व्यवसायीलाई क्रमशः व्यवसाय वृद्धि गर्न सुझाव दिँदै अन्तर्राष्ट्रिय गुणस्तरको सेवासुविधा प्रदान गर्न पनि सुझाए। ‘लेकसाइडमात्रै नभएर यहाँका अन्य स्थानमा पनि रेष्टुरेण्ट व्यवसायीको संख्या उल्लेख्य छ’-मन्त्री थापाले भने-‘प्रतिष्पर्धासं’गसं’गै गुणस्तरीय बनाउन आवश्यक छ।’

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक झलकराम सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, वस्तुगत संगठनका तर्फबाट शिव बास्तोला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला लगायतले शुभकामना मन्तव्य दिएका थिए।

सिटी रेवानका कार्यवाहक अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष केपी शर्मा पाध्याले स्वागत, संस्थापक अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाबारे प्रकाश, पूर्व अध्यक्ष यामबहादुर गुरुङले धन्यवाद ज्ञापन र महासचिव जीवन दाहालले कार्यक्रम सञ्चालन गरेका थिए।

महोत्सवमा नृत्यदेखि थारु नृत्यसम्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा व्यावसायिक प्रयोजनका ९५ र रेस्टुरेन्टका १० तथा सामाजिक संघसंस्था र सुरक्षा तथा स्वास्थ्यसम्बन्धी २० गरी कुल एक सय २५ वटा स्टल छन्। महोत्सवमा मंगलबार लोकदोहोरीतर्फ बद्री पंगेनी र सुगम संगीततर्फ कमल खत्रीको प्रस्तुति रहनेछ। यसबाहेक विभिन्न कलाकारको दैनिक प्रस्तुति रहने संस्थाका सचिव जीवन दाहालले जानकारी दिए। यस्तै, पप कर्न्र्सट, हास्यकलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेर समूहका गृहिणीको एकल नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी र दशैं अवसरमा खसी, बोका र च्याङ्ग्रा बिक्री महोत्सवको मुख्य आकर्षण रहेको छ ।

करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा ४१ लाख ९५ हजार रुपैयाँ खर्च र ४८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने आयोजकको अनुमान छ। बचत रकम पर्यटन प्रवर्द्धन र दैवी प्रकोप एवम् असहाय बालबालिकाका लागि पाँच प्रतिशत खर्चिने आयोजकले जनाएको छ ।महोत्सव सञ्चालनका लागि संस्थाले अध्यक्ष पीताम्बर पौडेलको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ।

महोत्सवको प्रवेश शुल्क ७० रुपैयाँ राखिएको छ। विद्यार्थी, अशक्त, वृद्धवृद्धा र बालबालिकाका लागि परिचयपत्र आधारमा छुटसहित ४५ रुपैयाँ कायम गरिएको छ।

- अादर्श समाज सम्वाददाता