नवौं मिस पोखराको तयारी

पोखरा, २ असोज । मिस पोखराको नवौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक जेसिआई पोखराले सोमबार पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो ।

मेट्स इन्टरनेशनलको मुख्य प्रायोजनमा हुने मिस पोखराको ग्राण्ड फिनाल असोज ५ मा पोखरा सभागृहमा हुँदैछ ।

कार्यक्रम मूल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष शिवप्रसाद सापकोटाका अनुसार उपाधिका लागि पाँच जिल्लाका १६ जना अन्तिम प्रतिष्पर्धामा उत्रनेछन् ।

सन् १९९५ बाट मिस पोखरा शुरु गरेको पोखरा जेसिजको नवौं संस्करणको विजेताले छनौट प्रक्रियाबिना नै स्वतः मिस नेपालमा प्रतिष्पर्धाका लागि स्थान सुरक्षित गर्ने आयोजकले जानकारी दिएको छ । १९९५ मा पहिलो पटक मिस पोखरा शुरु भएको थियो । सन् १९९९ सम्म निरन्तरता पाए पनि बीच हुन नसकेको प्रतियोगिता सन् २०१३ देखि जारी छ।

उपाधि विजेताले नगद ५० हजारसहित यामाहा फेसिनो स्कुटर प्राप्त गर्नेछिन् । प्रतियोगिताको फर्स्र्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजारसहित क्राउन, मिस पर्सनालिटी, मिस ट्यालेन्ट, मिस वेष्ट स्माइल, मिस क्याटवाक, मिस वेष्ट डे्रस, मिस फोटोजेनिक, मिस भ्यूअर च्वाईस र मिस पपुलर टाइटल पनि रहेको छ । सवटाइटल विजेताले नगदसहित गिफ्ट हृयाम्पर पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न २३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्लब अध्यक्ष शिवप्रसाद कोइरालाले बताए । उति नै रकम प्रायोजक, सहयोगीहरुसँग संकलन गरिएको आयोजकले जनाएको छ ।

नारीको क्षमता अभिवृद्धि तथा प्रतिभा प्रस्फुटनको लागि विशेष अवसर प्रदान गर्ने हेतुले आयोजना हुँदै आएको मिस पोखराका प्रतिष्पर्धीको आत्मविश्वास उजागर भई सामाजिक क्रियाकलापमा संलग्न रही सामाजिक रुपान्तरणका लागि अग्रसर हुने विश्वास लिइएको अध्यक्ष कोइरालाले बताए ।

पत्रकार सम्मेलनमा कोरियोग्राफर तथा सन् २००० कि मिस नेपाल उषा खड्गीले यो सौर्न्दर्य प्रतियोगिताको सकारात्मक पाटोबारे जानकारी गराई यस्ता ब्युटी पेजेन्टलाई सुधार गर्न आवश्यकता रहेको बताइन् ।

निवर्तमान अध्यक्ष गोविन्द देवकोटाले २२ वर्षअघि शुरु उक्त प्रतियोगिताबीच पछिल्लो समयमा च्याउसरी इभेन्टका नाममा आयोजना हुने र गरिमा घट्दै गएको कारण पोखरा जेसीजले कार्यक्रमको औचित्य पुष्टी गर्न पनि पुनः निरन्तरता दिन बाध्य भएको बताए ।

- अादर्श समाज सम्वाददाता