आयोजक र धौलागिरी उपाधिका लागि भिड्दै

पोखरा, २ असोज। आयोजक पोखरा क्रिकेट एकेडेमी तथा धौलागिरी क्रिकेट क्लब टी-ट्वान्टी टेनिस बल क्रिकेट प्रतियोगिताको उपाधिको लागि भिड्ने छन्।

अमरसिंहचौरमा सेमिफाइनलमा सोमबार प्रतिस्पर्धीलाई पन्छाउँदै उनीहरु उपाधि भिडन्त पक्का गरेका हुन्।

लक्ष्मी लाईटहाउस टी-ट्वान्टी टेनिसबल क्रिकेट प्रतियोगिताको सोमबारको पहिलो सेमिफाइनलमा धौलागिरी क्रिकेट क्लबले श्रीकृष्ण मिष्ठान भण्डार चितवनलाई ६३ रनले पराजित गर्दै फाइनल सुरक्षित बनायो।

टस जितेर व्याटिङ गरेको धौलागिरी क्रिकेट क्लबले अनिल लामिछानेको २८ रनको योगदानमा ११६ रनको लक्ष्य प्रस्तुत गर्यो। राजु थापाले १८, रविन कार्की १६ र  प्रवेश पुनले १५ रन बनाइ पवेलियन फर्किए। राजेश लम्सालले ४ ओभरमा ३ विकेट लिँदै धौलागिरीको व्याटिङ कमजोर बनाए। सन्तोष उपाध्यायले पनि ४ ओभरमा २ विकेट लिदाँ मन्जित राउतले ४ ओभरमा २ विकेट नै लिए।

म्यान अफ दि म्याच धौलागिरीका प्रवेश पुनले ४ ओभरमा ४ विकेट लिएपछि ११७ रनको लक्ष्य पछ्याएको मिष्ठान भण्डार चितवन भने केवल ५२ रनमै समेटियो। रुपेश सिंहले पनि ३ ओभरमा २ विकेट र अभिषेकसिंह ठकुरीले २ ओभरमा एक विकेट लिएपछि चितवनको व्याटिङ कमजोर हुन पुग्यो। आर्य महतो र कृष्ण भुषालको व्याटबाट भने क्रमश ११ र १० रन मात्रै जोडियो।

दोस्रो सेमिफाइनलमा आयोजकले फाइनल सुरक्षित बनाउन ६९ रनको जित निकाल्यो। विधान श्रेष्ठले उत्कृष्ठ व्याटिङ गर्दै ६५ रनको योगदान दिएपछि आयोजक पोखरा क्रिकेट एकेडेमी एले फ्युचर स्टार क्रिकेट क्लब सामु १५१ को सम्मानजनक स्कोर बनायो।

१३ रन हुँदा ३ विकेट गुमाँउदै कमजोर स्थितिमा रहेको अवस्थामा विधन र जिम्मी गुरुङको जोडी क्रिजमा जम्दै महत्वपूर्ण साझेदारी निभाए। जिम्मीले केवल २२ रन बनाई पवेलियन फर्किएपछि सुदिप पौडेलले ३८ रनको इनिङ खेल्दै आयोजकले ७ विकेटको क्षतिमा १५१ रन बनाउन सफल भएको थियो।

फ्युचर स्टारका बलर प्रज्वल दाहालले ३ ओभरमा २ विकेट लिए। १५२ रन पछ्याएको फ्युचर स्टार ८२ रनमा अलआउट हुन पुग्यो। चोक गुरुङले २४, दिवस गिरीले १९ र दिवाकर थापाले १६ रनको योगदान गरे। बलिङ तर्फ महम्मदरफिक आलमले ४ ओभरमा ३ विकेट, किरण पनुले १ ओभरमा २ विकेट,रिजन प्रजुले ३ ओभरमा १ विकेट, जिम्मी गुरुङ र प्रदीप राउतले समान ४ ओभरमा १ विकेट लिए। खेलमा विधान श्रेष्ठ म्यान अफ दि घोषित भए।

प्रतियोगिताको विजेता क्लबले नगद ६० हजार र उपविजेता क्लबले ४० हजार रुपैयाँसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने छन्।

- अादर्श समाज सम्वाददाता