मेलोडी अवार्ड संगीतकार थापालाई

पोखरा, २ असोज। चिप्लेढुंगामा रहेको ‘मेलोडी क्याफे एन्ड लाउन्ज बार’ले संगीतकार सुनिल थापालाई मेलोडी अवार्ड २०७४ अर्पण गर्ने भएको छ।

प्रदेश नम्बर ४ क्षेत्रमा जन्मेर गीतसंगीत क्षेत्रमा योगदान दिएको व्यक्तिलाई क्याफेले गत वर्षदेखि अवार्ड दिँदैआएको छ।

यसपटक दोस्रो मेलोडी अवार्ड कन्दरा ब्याण्डका मुख्य सदस्य थापालाई प्रदान गर्ने निर्ण भएको क्याफे सञ्चालक एवं गायक विनोद बानियाँले जानकारी दिए।

मेलोडी क्याफेले तेस्रो वाषिर्कोत्सवको अवसरमा असोज ६ गते एक समारोहबीच थापालाई नगद २५ हजार पाँच सय रूपैयाँ सहित, ताम्रपत्र र दोसल्लाले सम्मान गर्ने बानियाँले जनाए।

कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ संयोजक, संगीतकार कृष्णबहादुर श्रेष्ठ लगायत सम्मिलित प्रतिभा छनौट समितिको सिफारिसको आधारमा थापालाई अवार्ड प्रदान गर्न लागिएको पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

म्यूजिक एरेञ्जर तथा गायक समेत रहेका थापा दशकौंदेखि नेपाली संगीत क्षेत्रमा क्रियाशील छन्। कन्दराका बहुचर्चित गीत हङकङ पोखरा, तिमी पारी त्यो गाउँमा, लेककी हे माया, क्या राम्रो स्याउबारी, विदेशिएर गइन् उनी, तगारोमा रुमाल राखी लगायतका बहुचर्चित गीतका संगीतकार थापा नै हुन्।

‘कुनै पनि रेष्टुरेण्ट तथा बार अहिले संगीत अनिवार्य जस्तै भएको छ। लाइभ म्युजिक, दोहोरी लगायतका गीत समावेश हुन्छन्’-गायक बानियाँले भने-‘तर अहिलेसम्म संगीत क्षेत्रमा योगदान पुर्‍याउनेलाई कुनै पनि होटल, रेष्टुराँले सम्मान गरेको थाहा पाएको छैन। त्यसैले हामीले यो प्रयास गरेका हौं।’ यसअघि गीतकार तीर्थ तामाङ उक्त अवार्डबाट सम्मानित भएका थिए।

तीन वर्षअघि गायक बानियाँसहित शेखर शेरचन, गणेश बसौला, अशोककुमार गुरुङले सञ्चालन गरेको मेलोडी क्याफेले अवार्डलाई निरन्तरता दिने जानकारी दिएको छ।

- अादर्श समाज सम्वाददाता