विश्वकर्मा पुजनोत्सवमा निबन्ध प्रतियोगिता

पोखरा, १ असोज। भगवान् विश्वकर्माको पुजनोत्सवको अवसरमा विश्वकर्मा समाज नेपालले निवन्ध लेखन प्रतियोगिता गरेको छ।

भगवान् विश्वकर्माको महत्व, महिमा र उनका सीप, कलाको सान्दर्भिकता विषयक प्रतियोगितामा सात जनाले सहभागिता जनाएका थिए।

प्रतियोगितामा विन्ध्यवासिनी संस्कृत विद्यापीठका रमाकान्त पौडेल प्रथम, पोखरा विश्वविद्यालयका सनम गिरी द्वितीय र विन्ध्यवासिनी संस्कृति विद्यापीठकै तारानाथ पराजुली तृतीय भएका छन्।

विजयीलाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुर्इ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका डा नारायणप्रसाद अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

समाजले पुजनोत्सवका अवसरमा अन्तरक्रिया कार्यक्रमसमेत गरेको छ। कार्यक्रममा डा अधिकारीले विश्वकर्मा शब्द जातसँग नभई कर्मसँग सम्वन्धित भएको उल्लेख गरे।

उनले सबै मानिसको जन्म एउटै प्रकारको भएको भन्दै मानिसबीच कुनै विभेद नरहेको स्पष्ट पारे।

त्यसअवसरमा युवा पण्डीत कमलनयन गौतम, सूनचाँदी व्यवसायी संघका केन्द्रीय सदस्य चन्द्रकिशोर गौतम, विश्वकर्मा समाज नेपालका वरिष्ठ सल्लाहकार दुर्गाबहादुर सुनार, सदस्य होमकुमारी विक, विश्वकर्मा समाजकी महिला सभापति मञ्जु घिमिरे र विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर बराल लगायतले बोलेका थिए।

विश्वकर्मा समाज नेपालका अध्यक्ष गणेश बराइलीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक नवीन विकले स्वागत र महासचिव लालसिंह घतानेले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता