युनाइटेड र पोखरा युनिभर्सिटी क्वाटरफाइनलमा

पोखरा, ३१ भदौ। सिर्द्धार्थ स्पोर्टस्लाई ६८ रनले पराजित गर्दै युनाइटेड क्लब लक्ष्मी लाईटहाउस अन्तरक्लब टी-ट्वान्टी टेनिसबल क्रिकेट प्रतियोगिताको समूह ए तर्फबाट क्वाटरफाइनलमा प्रवेश गरेको छ।

पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरा रंगशालामा शनिबार भएको खेलमा टस जितेर व्याटिङ गरेको युनाईटेडले सन्जय जिसीको महत्वपूर्ण ३० रन र समीर पुनको २० रनको योगदानमा सबै विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो। योगफलमा मनोज लामाको पनि १२ रनको योगदान जोडियो। सिर्द्धार्थका रहमन अन्सारीले ४ ओभरमा ३ विकेट लिँदै युनाईटेडलाई कमजोर बनाउन तल्लिन देखिए। विजय राउतले पनि ४ ओभरमा २ विकेट लिन सफल भए।

११० रन पछ्याएको सिदार्थ स्पोर्टस् केवल ४१ रनमै समेटिदाँ सबै विकेटलाई गुमाउन पुग्यो। सुमन घिमिरेले १३ र ऋषिकेश शर्माले केवल ११ रनको योगदान नै व्यक्तिगत उच्चस्कोरको रुपमा रहृयो। म्यान अफ दि म्याच सन्जय जिसीले ४ ओभरमा ४ विकेट लिएपछि सिदार्थ धराशयी बन्न पुग्यो। सन्जय रानाले पनि २ ओभरमा ३ विकेट लिए भने लक्ष्मण केसीले पनि ४ ओभरमा २ विकेट लिएपछि सिदार्थ सस्तैमा समेटियो।

अको खेलमा फ्रेण्ड्स क्लबलाई ३ विकेटले पराजित गर्दै पोखरा युनिभर्सिटीको टोली क्वार्टफाइनलमा स्थान पक्का गर्‍यो। व्याटिङ थालेको फ्रेण्ड्स क्लबका सबीर खानले अर्धशतक बनाउनबाट चार रनले चुके। ४६ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि इनिङमा सन्जय गुप्ता र अकबर हुसेनले १४-१४ रनको योगदान दिए। सबै विकेट गुमाई ११० रन बनाएको थियो।

सागर कोइरालाले ४ ओभरमा ३ विकेट लिए। सुमन रसाईलीले पनि ४ ओभरमा ४ विकेट र शिव शर्माले ४ ओभरमा २ विकेट लिए। १११ रनको लक्ष्य पछ्याएको पोखरा युनिभर्सिटीले प्रकाश खनालको ३९ रनको ठोस महत्वपूर्ण योगदानमा सात विकेट गुमाउँदै जित निकाल्यो। नमन शाहले पनि २२ रन हिर्काए। बलिङतर्फ सविर खानले ४ ओभरमा ३ विकेट लिएका थिए। विजय क्षत्री, सन्जय गुप्ता र मुन्ना खानले १-१ विकेटको हकदार बने। म्यान अफ दि म्याचको पुरस्कार भने युनिभर्सिटीका सुमन रसाईलीले पाए।

- अादर्श समाज सम्वाददाता