निर्वाचन प्रचार अन्तिम चरणमा मध्यरातबाट मौन अवधि

काठमाडौं, २९ भदौ । असोज २ मा हुने प्रदेश २ को स्थानीय निर्वाचनको चुनाव प्रचार अन्तिम चरणमा पुगेको छ । शुक्रबार दिउँसो अन्तिम दिनको प्रचार कार्यक्रमपछि मध्यरातिबाट मौन अवधि शुरु हुनेछ । यसपछि निर्वाचन प्रचार प्रसारको कुनै पनि गतिविधि नगर्न निर्वाचन आयोगले बिहीबार नै सचेत गराएको छ ।

निर्वाचन तयारी क्रममा आयोगले मतपेटिकासहित कर्मचारीहरु निर्वाचन क्षेत्रमा पुर्‍याउन शुरु गरेको छ । आयोगले शुक्रबार र शनिबार मतदातालाई परिचयपत्र वितरण गरिने जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा भएको व्यवस्था अनुसार, मौन अवधिमा चुनावी प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । यस्तै,  मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने छ भने एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्हअंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग वा प्रदशन नगर्न पनि आयोगले आग्रह गरेको छ ।

चुनाव प्रचारको अन्तिम दिन शुक्रबार प्रदेश २ का विभिन्न जिल्लामा प्रमुख तीन दिनका शीर्ष नेताहरुले निर्वाचन प्रचारको आमसभामा सम्बोधन गर्नेछन् ।

नर्वाचन प्रचारमा व्यस्त रहेका प्रमुख तीन दल र मधेश केन्द्रीत दलहरुले मधेशमा आफ्नो दलले बहुमत स्थानमा जित्ने दाबी गरेका छन् । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त बनिरहेका छन् ।

चुनावी आमसभामा सहभागी हुन प्रदेश २ मा व्यस्त रहेका प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश दुर्इको स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टीबन्ने बताए ।

महोत्तरीको बर्दिवासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा तराई मधेशका जनताले काँग्रेसलाई नै रोज्ने दाबी गरे । तराईमा हुने बाढी समस्या समाधानका लागि भारत सरकार प्रतिबद्ध रहेको उनले बताए । हुलाकी राजमार्गले तराईलाई समृद्ध बनाउने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । सुनकोशी बाँध बाँधेर कमलामा पानी झारेपछि बिजुली र पानीको समस्या समाधान हुने विश्वास पनि उनले व्यक्त गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जितपुर-सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायतका चुनावी सभा र कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।

यता, निर्वाचनको तयारीका क्रममा कतै समस्या भएमा थप सुरक्षाकर्मी लैजान जनकपुरमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिने योजना रहेको बताइएको छ।  कुनै स्थानबाट मतपेटिका ओसार्न पनि हेलिकोप्टर प्रयोग गर्न सकिने सेनाले जनाएको छ । आठ जिल्लाका एक सय ३६ स्थानीय तहको सुरक्षा व्यवस्था सहज रहेको निर्वाचन आयोगको भनाइ छ । प्रदेश नं. २ को निर्वाचनमा करिब ६० हजार सुरक्षाकर्मी खटिनेछन् । जसमध्ये निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी हुनेछ ।

- अादर्श समाज सम्वाददाता