सुवेदीलाई बाल कल्याण समिति सम्मान

पोखरा, २९ भदौ। राष्ट्रिय बाल दिवस अवसरमा पोखराका रामप्रसाद सुवेदी राजधानीमा बाल कल्याण समिति सम्मानबाट सम्मानित भएका छन्।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रायल तथा केन्द्रीय बाल कल्याण समितिले बिहीबार आयोजना गरेको मूल समारोहमा उनलाई नगद २० हजार एक सय एक रूपैयाँसहित सम्मानपत्रबाट प्रदान गरिएको छ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले सुवेदीलाई सम्मान गरेकी थिइन्।

जिल्ला बाल कल्याण समिति कास्कीको सदस्य रहेका सुवेदीले बालबालिकाको हकहित, बालअधिकार संरक्षण तथा सर्म्बर्द्वनमा योगदान पुर्‍याएकोमा सम्मान गरिएको हो।

पोखरा १७ घारीपाटन निवासी सुवेदी १७ वर्षदेखि बालबालिकाको हकहित, बालअधिकार संरक्षणमा र सर्म्बर्द्वनमा सक्रिय छन्। उनकै नेतृत्वमा गोनेसा नामक संस्थामार्फत कास्कीमा २४, तनहुँ र गोरखामा एक/एक गरी २६ वटा बालबालिका केन्द्र सञ्चालनमा छन्।

हाल ती बालबिकास केन्द्रमा पाँच सय २५ जना बालबालिका आश्रति छन्। जहाँ उनीहरूका लागि शिक्षा, स्वास्थ्य र पोषणको व्यवस्था हुँदै आएको छ। त्यस्तै, विभिन्न विद्यालयमा चार सय ५० जना बालबालिकालाई १ देखि १२ कक्षासम्म निःशुल्क पठनपाठनको सुविधा समेत प्रदान गरिएको छ।

उनले बालबालिकाको क्षमता अभिवृद्वि, नीति निर्माण र स्रोत जुटाउने अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।  ‘बालमैत्री शासनः बाल अभिकार सम्मान’ भन्ने मूल नाराका साथ देशभर विविध कार्यक्रम गरी बाल दिवस मनाइएको छ।

- अादर्श समाज सम्वाददाता