कार्यालय प्रमुखलाई कार्यकक्षमै कालोमोसो

नवलपरासी, २९ भदौ। नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कावासोतीमा रहेको मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्र घिमिरेलाई बिहीबार दिउँसो कार्यकक्षमै थुनेर कालोमोसो दलेका छन्। मालपोत कार्यालयमा व्यापक अनियमितता भएको स-सानो काममा समेत घूस खाने गरेको भन्दै उनीहरुले कालोमोसो दलेका हुन्।

कार्यालयमा पुगेका सेवाग्राहीका अनुसार तीन जनाको समूहमा आएको उनीहरुले कोठा थुनेर घिमिरेलाई कालोमोसो दलेपछि कार्यालय परिषरमा पर्चा फालेर फरार भएका छन्।

पर्चामा जग्गाको कारोबार गर्दा किर्ते गरेको,  ३० लाख बढी ठेली र अंक घर्टाई लाग्ने पुँजीगत लाभकर नलाग्ने बनाई सोवापत लाखौं भ्रष्टाचार गरेको, पिच बाटो भएको जग्गालाई कच्ची बाटो र कच्ची बाटो भएको जग्गालाई बाटो नभएको मूल्य राखी रजिस्टेशन वापत आउने राजश्व आफूले लिने गरेको आरोप लगाएका छन्।

यस्तै, छिटो छरितो हुने कामलाई पनि घूस लिएपछि मात्रै गर्ने गरेको लगायतको आरोप लगाईएको छ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनपरिषद्, जनसत्ता नवलपरासीका एक सदस्यलाई राजधानीलाई फोन गर्दै आफ्नो पार्टीका कार्यकर्ताले मालपोत कार्यालय प्रमुखलाई कालोमोसो दलेको स्वीकार गरे।

कालोमोसो दलेर फरार रहेकाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक नवीन राईले बताए।

- अादर्श समाज सम्वाददाता