बुद्ध लामा पोखरा आउने

पोखरा, २६ भदौ। एपि १ टेलिभिजनद्वारा सञ्चालित चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को ग्राण्ड फिनालेमा प्रवेश गरेका पोखरेली प्रतिभा गायक बुद्ध लामा मंगलबार पोखरा आउने भएका छन्। ग्राण्ड फिनाले प्रवेशपछि गृहनगर पोखरा आउन लागेका बुद्धको पोखरामा भव्य स्वागत गरिने ‘बुद्ध लामा जिताऔं’ अभियानका महासचिव मन क्षेत्रीले जानकारी दिए।

बुद्धसँगै रियालिटी सोसँग सम्बन्धित अन्य प्रतिनिधिसमेत सहभागी हुनेछन्। फाइनल प्रतिष्पर्धामा आफ्नो लागि भोट अपील तथा गृहनगरमा हुने उनको भव्य स्वागतको छायाङ्कन गर्न शोका प्रतिनिधि उनीसँगै रहनेछन् ।

पोखरा विमानस्थलमा बिहान ८ बजे उनको बाजागाजासहित स्वागतपश्चात पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक हुँदै जनप्रियचोकमा बुद्धको कर्न्र्सटसमेत आयोजना गरिएको ‘बुद्ध लामा जिताऔं’ अभियानका संयोजक नवराज बरालले बताए।

- एजेन्सी