अन्तर्राष्ट्रिय लनटेनिस प्रतियोगिता

पोखरा, २४ भदौ । नेपालमै पहिलोपटक पोखरामा एनआइसी एशिया अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ।

पोखरा रंगशालामा भदौ २६ देखि असोज ७ गतेसम्म लगातार दुर्इ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरी जनाएको हो ।

कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा हुने उक्त प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीको सहभागिता रहनेछ।

पहिलो सर्किट भदौ २६ देखि ३१ गतेसम्म, दोस्रो सर्किट असोज २ देखि ७ गतेसम्म हुने प्रतियोगिता संयोजक अजय विष्टले जानकारी दिए।

प्रतियोगितामा ३५, ४५ र ५५ वर्षमाथिका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। एकल तथा डबल्समा उनीहरु प्रतिष्पर्धामा उत्रनेछन्। पहिलो सर्किटको प्रतियोगितामा ८७ खेलाडीको सहभागिता रहनेछ। ३५ वर्षमाथि उमेर समूहमा २८ जना खेलाडी, ४५ वर्ष उमेर समूहमाथि ३५ जना खेलाडी र ५५ वर्षमाथि उमेर समूहमा २४ जना खेलाडीले प्रतिष्पर्धा गर्नेछन्।

पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, मनोज राना, इन्द्रजित राई, राजु श्रेष्ठ, भारतका नरेश खत्री, चन्द्रभूषण, दिलीप महत्री, प्रवीनकुमार नायकलगायत खेलाडीको सहभागिता रहने छ ।

विजेता र उपविजेताले ट्रफी पाउनेछन्। खेलाडीहरुले अन्तर्राष्ट्रिय मान्यताप्राप्त अंक पाउनेछन्। ग्रेड फाइभ लेभलको यो प्रतियोगितामा विजेताले ४० अंक, उपविजेताले २० अंक, सेमिफाईनालिस्टले १०/१० र क्वाटरफाइनलमा आउट हुने चार जनाले पनि ५/५ अंक प्राप्त गर्नेछन्।

कास्की जिल्ला लनटेनिस संघका अध्यक्ष विनोद कायस्थले पोखराको पर्यटन प्रवर्द्धनमा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए।

आइटीएफ सम्पन्न गरेपछि ग्रेड फोर प्रतियोगिता गर्ने उनले जनाए। प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैयाँ लाग्ने आयोजकले अनुमान छ।

- अादर्श समाज सम्वाददाता