जनप्रियमा बीपीको सम्झना

पोखरा, २२ भदौ । प्रजातन्त्रवादी प्राध्यापक संघ जनप्रिय बहुमुखी क्याम्पस इकाइले जननायक बीपी कोइरालाको १०३ औं जन्मजयन्तीको अवसरमा भेटघाट तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।

प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा नेपाली काँग्रेसका सक्रिय नेता इन्द्रबहादुर कुँवरले कार्यक्रमको उद्घाटन गर्दै अब पनि काँग्रेसले बीपीको सिद्धान्तअनुसार आफ्ना नीति तथा कार्यक्रम ल्याई एकताबद्ध हुन नसके ठूलो मूल्य चुकाउनु पर्ने बताए । इकाइ सभापति कृष्णबाबु बरालले बीपीको राष्ट्रियताका चार तत्व जनता, जनताको अगाडि आएको समस्या, त्यस समस्यालाई सबैले मिलेर समाधान गर्ने सामूहिक प्रयत्न र त्यस प्रयत्नमा अनुभव भएको एकताको भावना हुन् भने । क्याम्पस प्रमुख विरञ्जी गौतमले बीपीको विचारमा जनताको शुख शान्ति र समृद्धि प्रजातन्त्रको माध्यमबाट मात्र सम्भव छ  र हरेक नागरिकलाई सक्षम बनाउन सक्नु नै बीपीवाद भएको बताए । उक्त अवसरमा क्याम्पस परिसर वृक्षारोपण गरियो ।

इकाइ सभापति कृष्णबाबु बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान सभापति पितृराज बास्तोला, पूर्व क्याम्पस प्रमुख भरतराज गौतम, स्ववियु सभापति आशिक गुरुङ, तरुण दल वडा नं. ८ का सभापति राजन पौडेल, नेपाली काँग्रेस वडा नं. ८ का सभापति सुभाष सिग्देल, नेपाली काँग्रेस जिल्ला सदस्य रंगीला आचार्य, महिला संघ क्षेत्रीय सभापति शारदा गिरीलगायतले  बीपीको बारेमा चर्चा गरे।

उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा इकाइका सदस्य हरिहर बरालले राखेका थिए भने सञ्चालन सहसचिव शिलु चालिसे र धन्यवाद ज्ञापन उपाध्यक्ष विकास थापाले गरेका थिए ।

- अादर्श समाज सम्वाददाता