फोनिजले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

पोखरा, २१ भदौ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार कल्याणकारी कोष स्थापनाका लागि च्यारिटीको शो आयोजना गर्ने भएको छ ।

महासंघको बुधबारको बैठकले आगामी असोज ७ मा नेपाली चलचित्र ‘रानी’ च्यारिटी शो गर्ने निर्णय गरेको हो ।

चलचित्र रानी निर्माता पोखराका समाजसेवी विमल गुभाजु र आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका अध्यक्ष एमबी आस्थामगरसहित महासंघका पदाधिकारीको बैठकले कोष स्थापनाका लागि शो गर्ने निर्णय गरेको हो ।

शोबाट हुने बचतले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी संकलन गरिने फोनिजका अध्यक्ष मगरले बताए । उनका अनुसार च्यारिटी शोसँगै कोष स्थापनाका लागि अन्य कार्यक्रमहरूको समेत आयोजना गरिने छ ।

यसैबीच, कोष स्थापनाका लागि फोनिज कास्कीका अध्यक्ष एमबी आस्थामगरले अक्षयकोष स्थापनाका लागि पाँच हजार रुपैयाँ फोनिज कास्कीका कोषाध्यक्ष उमा आले मगरलाई हस्तान्तरण गरेका छन् । कोषाध्यक्ष उमाले पनि एक हजार रुपैयाँ सहयोग गरिन् ।

यस्तै, अमेरिकाको ओहायो प्रान्तमा रहेका पत्रकार गोकुल बानियाँ र उनका धर्मपत्नी रीता अधिकारीले पत्रकार कल्याणकारी कोषका लागि १० हजार रुपैयाँ प्रदान गर्ने भएका छन् ।

- एजेन्सी