डिमर्चाको दसैं गीत

पोखरा, २१ भदौ । झ्याम्म झ्याम्म, हुन्देरेलगायतका दर्जनौं लोक पप र र्‍याप गीत गाएर श्रोता दर्शकमाझ छुट्टै छाप छाड्न सफल डिमर्चा ‘डिमर्चा’ दसैं गीत लिएर श्रोतामाझ आएको छ।

‘दशैं आयो’ बोलको गीत लिएर आएको ब्याण्डको यो गीत फङ्की रक प्याट्रनमा छ। नयाँ टिम मेम्बरसहित फेरि एकपटक जुमुराउने प्रयासस्वरुप नयाँ गीत रेर्कर्डमा आफूहरु लागेको डिमर्चाका प्रमुख भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जानकारी दिए।

झण्डै आधा दशकपछि नयाँ गीत रेर्कर्ड गरेको डिमर्चाले अन्य गीत पनि रेर्कर्ड गर्ने तयारी गरेको गायक श्रेष्ठले बताए।

उनले भने-‘नयाँ टिमसहित आएको छु, दशैं आयो गीत रेर्कर्ड भएर देशभरका एफएम रेडियोमा बज्न शुरु भइसकेको छ, अन्य केहि नयाँ गीत रेकर्डिङको क्रममा छन्।’

उनका अनुसार ‘जबदेखि नेपालमा डेमोक्रेसी आको, डिमर्चा व्याण्डले र्‍याप गीत गाको’, ‘र्घर्रर्घर्र पानी घट्ट’लगायतका गीतहरु रेकर्डिङक्रममा छन्।

उनले व्याण्डका अन्य साथीहरु व्यस्तताका कारण समय दिन नसकेपछि नयाँ मेम्बर थपेर गीत रेकर्डिङ शुरु गरेको बताए।

उनले भने-‘पुराना साथीहरु व्यस्त भएर समय दिन छाडे, व्याण्डलाई मर्न नदिनको लागि भएपनि नयाँ मेम्बर थपेर गीत रेकर्डिङ शुरु गरेको हुँ।’

व्याण्डमा नयाँ सदस्यको रुपमा लिड गीतारमा सञ्जय नेपाल, बेस गीतारमा वीरेन्द्र पुन र ड्रममा प्रज्ज्वल विके थपिएका छन्। श्रेष्ठबाहेक डिमर्चाका अन्य सबै नयाँ अनुहार हुन्।

डिमर्चाले ‘खैलाबैला भो’, ‘हुन्देरे’, ‘१,२,३ भन्दिने हो’, ‘झ्याम्म झ्याम्म’ र ‘कोही छ किन्ने- एल्वम बजारमा ल्याएको छ।

- एजेन्सी