शुक्रराज बलभद्रमा सटर बनाइने

पोखरा, ३१ भदौ। पोखरा १४ स्थित शुक्रराज बलभद्र माध्यामिक विद्यालयमा नौकोठे सटर निर्माण गरिने भएको छ।

व्यावसायिक प्रयोजनका लागि सटर भाडामा दिएर विद्यालयको आयस्रोत बढाउने उद्देश्यले सटर निर्माण गरिने भएको हो।

तीन महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ। भवन निर्माणका लागि ४२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। भवनका लागि ल्याण्डफिल साइड योजनाको २८ लाख र १४ लाख जनश्रमदानबाट खर्च गरिने छ।

भवनको शिलान्यास गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले विद्यालयलाई सहयोग गर्ने उल्लेख गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समितिका संयोजक रोमबहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष खड्कबहादुर विक, प्रधानाध्यापक भोलानाथ पौडेल र सहायक प्रधानाध्यापक कृष्णबहादुर कुँवरले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता