तारा खेल उपाधि छन्त्याल संघ काठमाडौंलाई

पोखरा, २० भदौ। थकाली सेवा समिति पोखराको आयोजनामा भएको अमृतप्रसाद शेरचन स्मृति खुला तारा खेल प्रतियोगिताको उपाधि नेपाल छन्त्याल संघ काठमाडौंले जितेको छ।

पोखराको नदीपुरस्थित थकाली सेवा समाजमा मंगलबार भएको प्रतियोगितामा उक्त संघले १ सय ३८ अंकका साथ उपाधि रक्षा गरेको हो। उसले उपाधिसहित ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगितामा म्याग्दीको दाना तातोपानी मगर समाज टाइअफमा दोश्रो भयो। म्याग्दी मगर समाज तेस्रो भयो। उनीहरुले पुरस्कार क्रमशः ३० हजार र २० हजार रुपैयाँ समाथ मेडल र प्रमाणपत्र पाएको प्रतियोगिता संयोजक जुम भट्टचनले बताए।

प्रतियोगितामा सर्वश्रेष्ठ धनुधर म्याग्दी आर्चरी क्लब आरेभिर वेनीका गजेन्द्र बुढाथोकी घोषित भए। उनी ३३ अंकका साथ सर्वश्रेष्ठ धनुधर अर्थात् उत्कृष्ट खेलाडी घोषित भएका हुन्। नेपाल छन्त्याल संघ कास्कीका दलमान छन्त्यालले नौ खोल गरी विशिष्ट धनुधरको उपाधि हात पारे।

विजयीलाई स्व अमृत शेरचनकी श्रीमती शोभा शेरचन, थमाली सेवा समितिका अध्यक्ष विश्वमोहन गौचन, सल्लाहकार अजित शेरचन, डा सोमतसिंह तुलाचन, प्रतियोगिता संयोजक जुम भट्टचन, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन, समाजसेवी रमेश भट्टचन, क्या दलबहादुर शेरचनलगायतले पुरस्कार वितरण गरेका थिए।

थकाली समुदायको परम्परागत तारा खेल भएकोले गर्दा उक्त खेलको संरक्षणको लागि प्रतियोगिता आयोजना गरिएकोे प्रतियोगिता संयोजक भट्टचनले बताए।

प्रतियोगिताको मंगलबार नेपाल आर्चरी संघका केन्द्रिय पूर्व अध्यक्ष हरिध्वज तुलाचनले उद्घाटन गर्दै नेपाली परम्परागत खेलको संरक्षण गर्न यस्ता प्रतियोगिता आवश्यक भएकोमा जोड दिएका थिए। प्रतियोगिताका लागि प्रभु बैंक र गण्डकी विकास बैंकले सहयोग गरेका थिए। खेलमा १२ टिम सहभागी थिए।

- अादर्श समाज सम्वाददाता