राष्ट्रपतिद्वारा ‘अग्निदहन’ अवलोकन

हेमजा, १८ भदौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले चलचित्र ‘अग्निदहन’ अवलोकन गरेकी छिन्। मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको उक्त चलचित्रको प्रथम प्रदशनको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी हुन्।

अवलोकनपछि राष्ट्रपति भण्डारीले समाजमा भएका कु-प्रथा अन्त्य गर्ने दायित्व सबै नागरिकको भएको बताइन्।

राष्ट्रपति भण्डारीले अन्धविश्वासका कारण स्वयम् आफुसमेत पीडित बनेको र थुप्रै दिदीबहिनी एवं दाजुभाइसमेतले अनाहकमा ज्यान गुमाउनु परेको तत्थ अगाडि सार्दै अन्धविश्वासमा नलाग्न देशवासीलाई आग्रह गरिन्।

राष्ट्रपति भण्डारीले राजनैतिक चेतना भएका र पढेलेखेका मानिससमेत अन्धविश्वासमा फँस्दा त्यस्तो अन्धविश्वास मौलाइरहेको भन्दै उनीहरूलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताइन्।

नेपालमा विदेशबाटसमेत झाँक्री बोलाई टुनामुना, झारफुक गर्ने गरेको आफुले सुनेको भन्दै राष्ट्रपति भण्डारीले बोक्सी कु-प्रथा विरुद्घ सचेतना जगाउन चलचित्र ‘अग्निदहन’ ठूलो सहयोगी सामग्री बन्ने स्पष्ट पारिन्।

उनले नेपालको तराई क्षेत्रमा बढी मात्रामा बोक्सी कु-प्रथा रहेको बताउँदै चलचित्रलाई देशका कुनाकुनासम्म र विदेशमासमेत लैजानुपर्ने धारणा राखिन्। उनले चलचित्रलाई भोजपुरी र मैथली भाषामा पनि निर्माण गर्न सुझाव दिइन्। राष्ट्रपति भण्डारीले चलचित्रको कथावस्तु वैज्ञानिक ढङ्गले पस्िकएको चर्चा गर्दै कुप्रथालाई प्रश्रय दिने अधिकार कसैसँग पनि नभएको औल्याइन्।

घनश्याम लामिछानेको निर्देशन, लोकमणि पौडेल लेखक रहेको उक्त चलचित्रमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, प्रकाश घिमिरे, माओत्से गुरुङ, तुलसा जिसी, ताराबहादुर गुरुङ, विष्णु बास्तोला, ओमराज पौडेल, दुर्गा न्यौपाने, लक्ष्मण ढुङगाना, सरलाकुमारी पाण्डे, विजय राई, प्रसिना आचार्य, कमला कुँवर, सन्ध्या आचार्य, धम्रेन्द्र पौडेल, गोविन्द पौडेल, कृष्णबहादुर कुँवर, डा निर्मल लामिछाने, डा दमन पौडेल, माधवशरण पौडेललगायतले अभिनय गरेका छन्।

भेटवार्तामा बोल्दै प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले नेपालबाट सती प्रथा उन्मुलन भएजस्तै प्रतिष्ठानले १५ वर्षभित्र नेपालबाट बोक्सी कुप्रथा अन्त्य गर्ने संकल्प राखेको जानकारी दिए।

प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा पौडेलले सरकारले गर्नुपर्ने काम नागरिकबाट गरेको चर्चा गर्दै चलचित्रलाई देशका कुनाकुनामा र विदेशमा लैजान सरकारलेसहयोग गर्नुपर्ने बताए।

कार्यक्रममा प्रतिष्ठानका महासचिव श्रीभद्र पौडेल, संरक्षक मोहनराज पौडेल, सदस्य अञ्जना बराल कलाकार तुलसा जिसी, विष्णु बास्तोला, ओमराज पौडेल, प्रमिला तुलाचन, अनुपमा भण्डारी, कानुनी सल्लाहकार सरलाकुमारी पाण्डेलगायतले पाष्ट्रपति भण्डारी समक्ष सहयोगको आग्रह गरेका थिए।

- अादर्श समाज सम्वाददाता