‘राष्ट्रिय स्रष्टा सम्मान’ गीतकार थापालाई

काठमाडौँ, १३ भदौ। गीतकार संघ नेपालले विसं २०७३ को राष्ट्रिय स्रष्टा सम्मान गीतकार राजेन्द्र थापालाई प्रदान गरेको छ।

संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘वर्ष गीत पुरस्कार’ गीतकारद्वय नृपध्वज खड्का र सुवास संगम राईलाई प्रदान गरिएको छ। उनीहरुलाई जनही रु २५ हजार पाँच सय र सम्मानपत्र दिइयो। एक जनालाई प्रदान गरिने रु ५१ हजार राशिको उक्त पुरस्कार छनोट समितिले दुर्इ जनाको नाम छनोट गरेपछि बाँडिएको हो।

यस्तै ‘प्रवास-डायस्पोरा स्रष्टा पुरस्कार’ गीतकार जानुका राईलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि रु ११ हजार र प्रमाणपत्र  छ। छनोट समितिमा गीतकार रमेश पौडेल र भावेश भुमरी रहेका थिए।

संघद्वारा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले रु एक लाख एक सय सम्मानपत्र र दोसल्लाद्वारा थापालाई सम्मान गर्दै अर्को जुन पेशा अपनाए पनि कोही गीतकार र संगीतकार हुन सक्ने बताए। उनले अब मुलुकलाई संगीतमय बनाएर अगाडि लैजानुपर्ने विचार पनि व्यक्त गरे।

सम्मानित व्यक्ति थापाले शब्द, संगीत र स्वर मिले मात्र गीतमा मिठास आउने बताए। थापाले आठ वर्षको उमेरदेखि गीत लेख्दै आएका छन्। संस्थाका अध्यक्ष चूडामणि देवकोटाले नेपालको गीत संगीतको क्षेत्रको विकासका लागि २०६७ सालमा गीतकार संघ स्थापना गरिएको जानकारी दिए।

- रासस