कृषि वैज्ञानिक स्थापितको निधन

पोखरा, १३ भदौ। वरिष्ठ कृषि वैज्ञानिक डा भुवनरत्न स्थापितको सोमबार निधन भयो।

६३ वर्षीय स्थापितको अमेरिकाको जेम्स ग्राहम ब्राउन क्यान्सर अस्पतालमा उपचारक्रममा निधन भएको हो। उनी दुर्इ वर्षदेखि जिब्रोको क्यान्सरबाट पीडित थिए।

२०११ बैशाख ८ मा पोखरामा जन्मेका डा स्थापितको नाममा ‘रत्न’ रहे जस्तै आफ्नो कार्यगत र क्षेत्रगत योगदानका हिसावले समेत उनी एक ‘रत्न’ थिए।

कृषि विज्ञान क्षेत्रमा उल्लेख्य योगदान गरेबापत २०५९ सालमा पोखरा नगरपालिकाद्वारा ‘नवरत्न सम्मान’ ले विभूषित उनी कृषि जैविक विविधता, अनुसन्धान तथा विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा समेत ख्यात्रि्राप्त व्यक्ति थिए।

विज्ञानमा मात्र नभै साहित्यिक क्षेत्रमा समेत उनले कलम चलाएका थिए। साहित्य क्षेत्रमा ‘अविरल स्थापित’ का नामले चिनिएका भुवनका केही साहित्यिक कृति समेत प्रकाशित छन्। उनको ‘अविरलका कथा’ हरू चर्चित साहित्यिक कृतिमा पर्दछ।

पोखरामा स्थापना भएको राष्ट्रियस्तरको गैरसरकारी संस्था जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल -ली-बर्ड) को संस्थाापक सदस्य र वर्तमान कार्यकारिणी बोर्डका सदस्यसमेत रहेका स्थापितले ली-बर्डको स्थापनाकालदेखि नै संस्थाको विकास र नेपालको जैविक विविधताको अनुसन्धान, संरक्षण र प्रवर्धनमा उल्लेख्य भूमिका खेलेका थिए।

विशेषगरी यथास्थानमा जैविक विविधताको संरक्षण, सहभागितामूलक बाली प्रजनन, समुदायमा आधारित जैविक विविधता व्यवस्थापन, सामुदायिक बीउ बैंक, घरबगैंचा लगायत क्षेत्रमा उनको योगदान अतुलनीय छ। यीनै विधामार्फत् डा स्थापित स्वदेशमा मात्र नभै विदेशमा समेत चर्चित थिए।

उनी सन् १९९७ देखि बायोभर्सिटी इन्टरनेशनल नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा वरिष्ठ वैज्ञानिक -कन्ट्री रिप्रजेन्टेटिभ) को रुपमा कार्यरत थिए।

सन् १९९६ देखि १९९७ सम्म नेपाल कृषि अनुसन्धान परिषदमा वरिष्ठ धान प्रजनकको रुपमा कार्य गरेका थिए। पोखराको अमरसिंह माध्यमिक विद्यालयमा १९७६ मा कृषि विषय अध्यापन समेत गरेका स्थापितले सन् १९७७ देखि १९९५ सम्म लुम्ले कृषि अनुसन्धान केन्द्रमा विभिन्न ओहदामा रही कार्य गरेका थिए।

उनले हरियाणा विश्वविद्यालय, भारतबाट स्नातक, रिडीङ विश्वविद्यालय, बेलायतबाट स्नातकोत्तर र दर्शनाचार्य र वेल्स विश्वविद्यालय बेलायतबाट कृषिमा विद्यावारिधी प्राप्त गरेका थिए।

डा भुवन स्थापितको निधनले उनलाई प्रेरणाको स्रोत मानि कृषि जैविक विविधता तथा प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा अध्ययनरत, अनुसन्धानरत र कार्यरत व्यक्ति, आफन्तजन र शुभचिन्तकले सामाजिक सञ्जालमार्फत् उनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।

ली-बर्डले मंगलबार पोखरास्थित प्रधान कार्यालयमा डा स्थापितको स्मृतिमा श्रद्धाञ्जली समारोह आयोजना गरेको थियो। समारोहमा उनका आफन्तजन, संस्थाका सदस्य तथा कर्मचारी एवं शुभचिन्तकको उपस्थिति थियो। उनको निवास नदीपुर र ली-बर्डको कार्यालयमा शोक पुस्तिका राखिएको छ।

स्वर्गीय स्थापितको श्रीमती, एक छोरा र दुर्इ छोरी छन्। उनीहरु सबै अमेरिका बस्छन्। स्वर्गीय स्थापितको अन्त्येष्टी अमेरिकामा नै गरिने पारिवारिक स्रोतले जनाएको छ।

- अादर्श समाज सम्वाददाता