सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल असोज २ देखि

पोखरा, १२ भदौ। सिटी रेवान पोखराले छैटौ संस्करणको सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल असोज २ देखि ११ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा गर्ने भएको छ ।

एक सय २५ स्टल रहने महोत्सवमा एक लाख दर्शक भित्र्याउने र १० करोड रूपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका महासचिव जीवन दाहालले व्यावसायिक प्रयोजनका ९५, रेष्टुरेण्टका लागि १०, सामाजिक संघसंस्था र सुरक्षा तथा स्वास्थ्यसम्बन्धी २० स्टल रहने जानकारी दिए।

उनका अनुसार महोत्सवमा कलाकारको दैनिक प्रस्तुति, पप कर्न्र्सट, हास्य प्रस्तुति, २५ देखि ४० वर्ष उमेर समूहका गृहिणीको एकल नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी र दसैं अवसरमा खसी, बोका, च्याङ्ग्राको बिक्री एवं प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहने छन्। महोत्सवमा पहिलो पटक भाले छोप्ने र ढिंडो खाने प्रतियोगिता समेटिएको छ ।

महोत्सवमा ४१ लाख ९५ हजार रूपैयाँ खर्च र ४८ लाख ४० हजार रूपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ । बचत रकममध्ये पाँच प्रतिशत पर्यटन प्रवर्द्धनका लागि, पाँच प्रतिशत दैवीप्रकोपका लागि र पाँच प्रतिशत असहाय बालबालिकाको लागि खर्च गरिनेछ । महोत्सव विगतका संस्करणभन्दा व्यवस्थित र भव्य बनाइने आयोजकको दाबी छ।

महोत्सव सञ्चालनका लागि संस्थाले अध्यक्ष पीताम्बर पौडेलको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ।  अतिथि सत्कार संयोजकमा दीपक तिमिल्सिना, प्रचारमा जीवन दाहाल, अर्थ संकलनमा रामप्रसाद ज्ञवाली, सांस्कृतिकमा यामबहादुर गुरुङ, स्टल व्यवस्थापनमा धर्मबन्धु सुवेदी, बाल उद्यानमा अर्जुन खनाल, पार्किङ व्यवस्थापन देवेन्द्र खनाल, खाजा तथा खाना व्यवस्थापनमा प्रकाश सुवेदी, सरसफाइ तथा पानीमा प्रेम सापकोटा, स्टेज व्यवस्थापनमा तुलसा जिसी र अमला भट्टचन, अनुगमन संयोजकमा चिरञ्जीवी श्रेष्ठ, सुरक्षामा केपी शर्मा, टिकटमा डिलराज पाण्डे, रेष्टुरेण्ट अनुगमनमा दीपक शर्मा र स्वास्थ्यमा मनोज केसी संयोजक तोकिएका छन्।

कार्यक्रममा संस्थापक अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष केपी शर्मा पाध्या, सल्लाहकार बसन्त गौचनलगायत उपस्थित थिए । कार्यवाहक अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव जीवन दाहालले गरेका थिए।

- अादर्श समाज सम्वाददाता