देउवाको जिकिर

'संविधान कार्यान्वयन विषयमा अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु स्वभाविक’

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनजस्तो राष्ट्रिय प्राथमिकताको विषयमा अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु अस्वभाविक नभएको बताएका छन् ।

भारत भ्रमणक्रममा संविधान संशोधनको विषयमा व्यक्त विचारलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री देउवाले सोमबार व्यवस्थापिका संसद्को बैठकमा स्पष्टिकरण दिँदै यस्तो बताएका हुन् । उनले संविधान संशोधन नेपालको आन्तरिक विषय भए तापनि यसबारे अन्तर्राष्ट्रिय जगतलाई अवगत गराउनु अन्यथा नहुने बताए ।

‘संविधान संशोधन विषयमा हामीले गरेको प्रयासबारे संयुक्त पत्रकार सम्मेलनमा मैले बोलेको छ’- प्रधानमन्त्री देउवाले भने-‘यो विषयलाई राजनीतिक दलबाट व्यक्त विचार तथा सञ्चारमाध्यममा आएका टिप्पणीबारे मेरो ध्यानाकर्षण भएको छ ।’

‘संविधानको सर्वस्वीकार्यता कायम गर्दै संविधान कार्यान्यन गर्नु हाम्रो राष्ट्रिय एजेन्डा हुन् । हाम्रो राष्ट्रिय प्राथमिकताका विषयबारे राष्ट्रिय अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु अस्वभाविक विषय होइन’-प्रधानमन्त्री देउवाले भने ।

नेपालको शान्तिप्रक्रिया र लोकतन्त्रको संक्रमणकालमा सघाउँदै आएका छिमेकी मित्रराष्ट्रबाट नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जिज्ञासा राख्नु नाजायज नभएको उल्लेख गर्दै संविधान कार्यान्वयनका विषयमा कुनै पनि छिमेकीको हस्तक्षेप स्वीकार्य नहुने प्रधानमन्त्री देउवाको भनाइ थियो । संविधानको कार्यान्वयन नितान्त नेपाल र नेपालीको आन्तरिक विषय भएको भन्दै उनले यसमा कसैसँग सम्झौता नभएको र हुन पनि नसक्ने बताए । देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताए । उनले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले प्रष्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वास समेत पैदा भएको दावी गरे । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन -डिपिआर) आगामी एक महिनाभित्र सम्पन्न गर्ने गरी भारतीय समकक्षीसँग कुराकानी भएको उल्लेख गर्दै उनले ऊर्जा व्यापार सम्झौताको मर्म र भावनाअनुसार नै मुलुकमा ऊर्जा उत्पादनलाई बढवा दिने र प्रसारणलाइन निर्माण गर्ने सर्न्दर्भमा सहमति भएको जानकारी गराए ।

प्रधानमन्त्री देउवाले आर्थिक विकास र नेपालमा लगानीका लागि आफूले भारतीय पक्षसँग कुरा गरेको, पर्यटन क्षेत्रको विकास तथा विस्तार, निजगढ विमानस्थल निर्माण तथा नयाँ १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणमा समेत सहमति भएको बताए । प्रधानमन्त्री देउवाले थप नयाँ स्थानमा प्रसारण लाइन निर्माणलाई समेत अगाडि बढाइने सहमति भएको बताउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि ऊर्जा र पर्यटन क्षेत्रको विकास, ठूला आयोजना अगाडि बढाउन नेपाल र भारत सहमत भएको जानकारी दिए ।

यस्तै, माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता जलविद्युत् आयोजना अगाडि बढाउने सर्न्दर्भमा समेत महत्वपूर्ण छलफल भएको बताउँदै उनले ठूला र महत्वपूर्ण आयोजना क्रमशः अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

- अादर्श समाज सम्वाददाता