गौरा पर्व मनाइँदै

काठमाडौँ, १२ भदौ । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुवोको पूजा गरेर मंगलबार सुदूरपश्चिम र मध्यपश्चिमबासीले मनाउँदैछन् ।

गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँभनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिए ।

गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, सामा -सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्रयाएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको जोशीले बताए ।

देवीलाई गाउँका नायकले भित्रयाउनुपर्ने चलन छ । यसरी भित्रयाउँदा कसैले पनि हेर्र्नु नहुने भनाइ पनि रही आएको छ । गौरा भित्रयाउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् ।देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरूले मनाउने गरेका छन् । भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्ति ऋषिको उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरा पर्व मनाउनु पर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र बताए ।

कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ ।

दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान दरसन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रत समेत गरिने धार्मिक नियम छ ।

भाद्र शुक्ल अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुवोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि गौतमले बताए । अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुवोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

यसवर्ष अष्टमीमा अनुराधा नक्षत्र परेको र ज्येष्ठाले नभेटेकाले दुवोका पूजा गर्नुहुने समितिले जनाएको छ । यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्यसिद्धि हुने धर्म ग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ ।

यो दिनमा सुदूरपश्चिमबासीहरू देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमबासी मनोरञ्जन गर्दछन् । यस पर्वको उपलक्ष्यमा  सरकारले राष्ट्रिय बिदा दिएको छ ।

- रासस