बुद्ध लामा जिताऔं अभियान

पोखरा, १२ भदौ। एपी-१ टेलिभिजनले आयोजना गरेको रियालिटी शोमा उत्कृष्ट चारभित्र पर्न सफल बुद्ध लामा पोखराका गौरव भएको भन्दै उनलाई जिताउन अभियान थालिएको छ ।

त्रिवेणी संगीतालयद्वारा पोखरामा सोमबार आयोजित कार्यक्रममा बोल्ने वक्ताले लामालाई जिताउन सबैलाई आग्रहसमेत गरे ।

कलाकार लामा सानै उमेरदेखि संगीत क्षेत्रमा लागेको र आफ्नै क्षमताले उक्त कार्यक्रममा उत्कृष्ट रहेको सहभागीले उल्लेख गरे। संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई साथ दिनुपर्नेमा सबैको जोड थियो।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, गुरुकुल संगीतालयका प्रशिक्षक तीर्थराज पोखरेल, तराना म्यूजिक सेन्टरका प्रशिक्षक श्रीमान थुलुङ, जोजिजू म्युजिक सेन्टरका प्रबन्ध निर्देशक वीनित जोजिजु, कलाकार मनकुमार श्रेष्ठ, मनोज बास्तोलालगायतले सञ्चार क्षेत्रले लामाको योगदानबारे उजागर गरेर आमसमुदायलाई सुसूचित गर्नुपर्ने बताए।

त्रिवेणी संगीतालयका वरिष्ठ संगीत प्रशिक्षक नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार मन क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन गायक तथा सञ्चारकर्मी सन्तोष बस्यालले गरेका थिए।

यसैबीच, लामालाई जिताउन वरिष्ठ संगीत प्रशिक्षक बरालको संयोजकत्वमा सहयोग समितिसमेत गठन गरिएको छ।

- अादर्श समाज सम्वाददाता