सवारी चेकजाँचबाट ४४ लाख राजश्व

पोखरा, १२ भदौ । जिल्ला ट्राफिक कार्यालय कास्कीले पर्यटकीय नगरी पोखरामा ट्राफिक व्यवस्थापनमा कर्डाई गरेको छ । सवारी चेकजाँच कर्डाई गरिँदा दुर्घटना न्यूनीकरण हुनुको साथै राजश्वमा समेत वृद्धि भएको छ ।

झण्डै डेढ महिना अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई कारबाही गर्नुका साथै राजश्ववापत ४४ लाख रूपैयाँ संकलन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी नायव निरीक्षक शिव थापाले जानकारी दिए । उनअनुसार साउन १ देखि भदौ १२ गतेसम्ममा नियमविपरीत सवारी सञ्चालन गर्ने सवारीबाट ४४ लाख १५ हजार राजश्व संकलन गरिएको हो ।

प्रहरीले पछिल्लो समय सवारी चेकजाचमा कर्डाई गरेपछि तीन सय ४६ जनालाई मापसेमा कारबाही गरेको छ भने सो कारबाहीबाट तीन लाख ४६ हजार रूपैयाँ राजस्व संकलन भएको बताए ।

जिल्ला ट्राफिक कार्यालय यातायात व्यवस्था कार्यालय गुणस्तर तथा नापतौल कार्यालयबाट संयुक्तरूपमा अनुगमनसमेत शुरु भएको छ । महानगरमा सञ्चालित ट्याक्सीमध्ये चेकजाँचक्रममा दैनिक कम्तीमा १५ वटाले बढी भाडा असुल्ने गरेको भेटिएको छ ।

बढी भाडा लिने दैनिक १५ ट्याक्सी तथा यात्रुबसलाई यातायात व्यवस्था कार्यालय पोखरामा कारबाहीका लागि पठाएको थापाले जानकारी दिए ।

त्यस्तै, ट्याक्सीमा मिटर जडान नगरेको, मिटर दुरुस्त नराख्ने ८ वटा ट्याक्सीलाई कारबाहीका लागि गुणस्तर तथा नापतौल कार्यालयमा पठाएको थापाले जानकारी दिए ।

आर्थिक वर्ष साउनदेखि हालसम्म १० वटा सवारीसाधनमात्रै दुर्घटना भएको कार्यालयले जनाएको छ । बढी भाडा लिएका पाँच बसका सवारीचालक र सहचालकलाई थुनामा राखेर कारबाही गरिएको छ ।

साउन १ गतेदेखि महानगरमा हर्न बजाएका ६१ सवारीबाट प्रतिसवारीबाट पाँच सय रूपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ । यातायात व्यवस्था कार्यालय गण्डकी हाल एक लाख ६५ हजार सवारी दर्ता छन् । महानगरमा ट्राफिक व्यवस्थापन मिलाउन सडक किनारमा अव्यवस्थित गरिने पार्किङ हटाउने,, सडक किनारमा थुपारिने निर्माण सामग्री समय अवधि दिएर हटाउने भएको छ।

- अादर्श समाज सम्वाददाता