आपतमा राहतको हातेमालो

पोखरा, ९ भदौ । नेपाल तरुण दल कास्कीले बाढीपीडित सहयोगार्थ पोखरामा शनिबार ‘आपतमा राहतको हातेमालो’ सांगीतिक साँझ कार्यक्रम गरेको छ ।

कार्यक्रममा कलाकार तथा गायक कर्णदास, रामभक्त जोजिजु, विनोद बानियाँ, योगेश काजी, मर्कुक दास,र्र् इतु जोजिजु, विवेक श्रेष्ठ, सन्तोष बस्याललगायतले प्रस्तुति राखे । उक्त कार्यक्रम अवसरमा विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगबाट झण्डै तीन लाख संकलन भएको जनाइएको छ ।

कास्कीलगायत देशका विभिन्न जिल्लामा वर्षायाममा गएको बाढी र पहिरोमा आक्रान्त भएका पीडितलाई थोरै भए पनि सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा तरुण दल कास्की अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।

उक्त अवसरमा सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले पूर्वी र पश्चिम तराईका बाढीपीडितलाई दिल खोलेर तन, मन र धनले सहयोग गर्न सबैसँग आग्रह गरे ।

मन्त्री थापाले केही दिनअघि भीषण वर्षासँगै आएको बाढीले तराईमा बस्ने धेरै दाजुभाइ तथा दिदीबहिनी कहालीलाग्दो अवस्थामा दिन गुजार्नु परेकाले आफूले जे सकिन्छ सहयोग गर्न आग्रह गरे ।

उनले बाढीपीडितका लागि तत्कालका लागि खाद्यान्न, अप्ठ्यारोमा परेकाको उद्धार र उचित ठाउँमा बस्ने बास व्यवस्था गर्न सरकार प्राथमिकताका साथ अग्रसर भएको धारणा राखे ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले संस्थाले हालसम्म १० लाख रुपैयाँ संकलन गरिसकेको र सबैभन्दा बढीपीडित भएका परिवारलाई ठाउँमै पुगेर राहत वितरण गरिने बताए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बाढीपीडितलाई मानवीय रुपमा सहयोग गर्न सबै पोखरेलीसँग आग्रह गरे ।

चिप्लेढुंगास्थित मानवअधिकार चोकमा भएको कार्यक्रममा उल्लेख्य दर्शक उपस्थित थिए ।

- अादर्श समाज सम्वाददाता