१६ औं बेतमा जुम्ल्याहा

हेमजा, १० भदौ। पोखरा-२५, हेमजा मेलवोटकी हरिकुमारी कुँवरले पालेको काली भैंसीले १६ औं वेतमा जुम्ल्याहा पाडा पाएको छ।

भदौ ४ मा पाएको पाडाको तौल र शारीरिक बनावट हिसाबले सामान्य अवस्थाका छन्।

घरमै हुकाएको उक्त भैंसीले लगातार १५ बेतसम्म वर्षैपिच्छे एक-एक पाडी पाए पनि यसपटक भने जुम्ल्याहा पाडा पाएको कुँवरले बताइन्।

भैंसीले उमेरको उत्तरार्धमा किन जुम्ल्याहा पायो भन्ने विषय यतिबेला उनको खुल्दुलीको विषय बनेको छ। हाल १९ वर्ष पुगेको उक्त भैंसीले एक साँझमा एक पाथी दूध दिने गरेको कुँवरले जनाएकी छन्। जुम्ल्याहा पाडा पाएसँगै पाडा र भैंसीको अवस्था बुझ्न छिमेकी उनको घरमा पुग्ने गरेका छन्। तीजमा हेमजा माइत आएका शिव खड्का कुँवर, विष्णु गिरी कुँवर, राममाया गौतम, मधु केसी, बालकुमारी बस्नेतलगायत भैंसी र पाडाको अवस्था बुझ्न कुँवरको घरमा पुगेका थिए। छिमेकी राजकुमार कुँवरले भैंसीले जुम्ल्याहा पाउनु निकै नौलो भएको बताए।

- अादर्श समाज सम्वाददाता