एपीएफलाई उपाधि, सरस्वती उत्कृष्ट

पोखरा, ८ भदौ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको रेडबुल महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ ।

तीज अवसरमा बिहीबार इन्द्र राज्यलक्ष्मी माविको खेल मैदानमा भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी शिवम् न्यू डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गराउँदै एपीएफले दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो । पहिलो संस्करणमा नेपाल पुलिसलाई हराउँदै उपाधि जितेको उसले त्यसयता लगातार डायमण्डसँगको फाइनलमा उपाधि सुम्पिदैआएको थियो । यसपालि भने सशक्तरुपमा कोर्ट उत्रिएको एपीएफले उपाधि आफ्नो पक्षमा फर्काउन सफल भएको हो ।

उल्लेख्य दर्शकमाझ भएको फाइनलमा एपीएफले डायमण्डलाई २५-१८, २५-१८ र २५-१२ को सोझो सेटमा पराजित गर्दै उपाधिसहित ७५ हजार रुपैयाँ, ट्रफी र मेडल पुरस्कारस्वरुप जित्न सफल भयो ।  खेलमा उत्कृष्ट प्रदर्शन गरेको एपीएफले डायमण्डलाई हराउँदै समान २५-१८ मा दुर्इ सेट आफ्नो पक्षमा पारेकोमा तेस्रो सेट पनि सहजै २५-१२ को स्कोर खडा गर्‍यो । उपविजेतामा सीमित डायमण्डले ५० हजार रुपैयाँ, ट्रफी र मेडल पुरस्कार पायो ।  विधागत पुरस्कारमा पनि एपीएफको वर्चस्व रह्यो ।

एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । त्यस्तै एपीएफकी वीनिता बुढाथोकी वेष्ट सेटर, उषा विष्ट वेष्ट क्वीकर, ज्ञानेन्द्रबहादुर बिष्ट वेष्ट कोच घोषित भए ।

उता, डायमण्डकी प्रतिभा माली वेष्ट स्पाइकर, पश्चिमाञ्चलकी पवित्रा जिसी वेष्ट ब्लकर, पश्चिमाञ्चलकै अरुणा शाही वेष्ट सर्भर, नेपाल पुलिसकी कमला पुनले वेष्ट ल्रि्रोको उपाधि जिते । उनीहरुलाई ट्रफीको साथमा घडी पुरस्कार दिइयो ।

एपीएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले सरस्वती र रेविका चौधरीको कडा स्पाइकले जित निकाल्न सजिलो भएको प्रतिक्रिया दिए।

लिग चरणमा पुलिसमाथि २५-१५, २५-१९ र २५-२० तथा सेमीफाइनलमा पश्चिमाञ्चललाई २५-१६, २५-१९ र २५-१३ को सोझो सेटमा हराउँदै फाइनल भिडेको न्यू डायमण्ड एपीएफविरुद्धको खेलमा निरीह देखियो । हारपछि डायमन्ड प्रशिक्षक कुमार राईले रेफ्रीको निर्णयले खेलमा असर गरेको दाबी गरे । उनले खेल सुधार्न रेफ्रीको स्तरलाई ध्यान दिनुपर्ने सुझाए ।

यसअघि भएको तेस्रो स्थानको खेलमा नेपाल पुलिसले पश्चिमाञ्चललाई २५-१८, २५-१९, २२-२५ र २५-२२ को सेटमा हराउँदै २० हजार पुरस्कार पायो । सान्त्वना पश्चिमाञ्चलले १५ हजार रुपैयाँ पाएको प्रचार संयोजक गिरीधारी शर्माले जनाए ।

विजयीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, आयोजक संस्थाका अध्यक्ष बमबहादुर गुरुङ, संस्थाका सल्लाहकार एवं नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्य, संस्थाका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्री, मिलन केसी, संजयकुमार अधिकारी, खेल संयोजक रहेका सुशीलकुमार श्रेष्ठलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा राखेप सदस्यसचिव विष्टले पोखरालाई खेलकुदको राजधानी बनाउनुपर्नेमा जोड दिए ।

- अादर्श समाज सम्वाददाता