बाढीपीडितलाई दिनको ७० रुपैयाँ राहत वितरण

कावासोती, ८ साउन। सरकारले बाढीमा परी विस्थापित परिवारलाई खाद्यान्न स्वरुप प्रतिव्यक्ति एक दिनको ७० रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेअनुसार बिहीबार मध्यविन्दु नगरपालिका २ सेहरीमा सोहीअनुसार राहत वितरण गरिएको छ।

मध्यविन्दु नगरपालिका २ सेहरीमा १८ घर परिवारका ७३ जना व्यक्तिलाई दिनको सत्तरी रुपैाको दरको एक महिनाको प्रतिव्यक्ति दुर्इ हजार एक सय रुपैयाँ खाद्यान्नको लागि राहत वितरण गरेको हो।

इलाका प्रशासन कार्यालय कावासोतीका प्रमुख भरतकुमार बुढाथोकी, मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना, उपप्रमुख ओमकुमारी महतो, वडा नं. २ का वडा अध्यक्ष नारायण पौडेल, राष्ट्रिय अनुसन्धानका अमृत सुवेदी, इलाका प्रशासन कार्यालय कावासोती नायव सुब्बा तोयानाथ भट्टाराईलगायतको सहभागितामा राहत वितरण गरिएको हो। कार्यक्रममा, सरावल गाउपालिका बार्ड नं. ४ मा ७५ घर परिवार बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको छ।

पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँंडेल, सरावल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष छोटेलाल यादव नेतृत्वको टोलीले राहत वितरण गरेको हो।

काँग्रेस सरावल गाउपालिकाका संयोजक विनोदकुमार पाण्डेको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा खाद्य सामग्री र लत्ता कपडा वितरण गरिएको हो।

त्यस्तै, पाल्हिनन्दन गाउपालिका वडा नं. १ शंकरपुरमा दुर्इ सय घरधरी लाई हेल्प नेपाल र मारुती नन्दन युवा क्लब अनादीको सहयोगमा तन्ना, बाल्टी, जग, ब्रस, साबुनलगायत सामग्री वितरण गरेको छ।

राहत सामग्री हेल्प नेपालका सदस्य जितेन्द्र गुप्ता र मारुती नन्दन युवा क्लबका अध्यक्ष प्रकास ढकालले हस्तान्तरण गरेका थिए ।

- अादर्श समाज सम्वाददाता