खैरेनीटारमा तीज गीत नृत्य प्रतियोगिता

खैरेनीटार, ८ भदौं । कपडा फेन्सी तथा कस्मेटिक व्यवसायी संघ, शुक्लागण्डकीको आयोजनामा खैरेनीटार बजारमा खुल्ला तीज गीत नृत्य प्रतियोगिता भएको छ ।

प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितले सभ्य समाज निर्माण र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताए ।

शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाईलीले समय अनुसारका कला र संस्कृतिको संरक्षणमा गर्नुपर्ने वताईन् ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेल, वडा नं. ७ का वडा अध्यक्ष रामबहादुर क्षेत्री थापा, पूर्णबहादुर कायस्थलगायत बोलेका थिए । कार्यक्रममा लोक तथा दोहोरीगायिका सम्झना भण्डारीले तीजका गीत बत्ति बाल्नै पर्दैन, हरियो वत्तिलगायत गीत गाएर मनोरञ्जन प्रदान गरेकी थिइन् ।

यस्तै, गायक मेक्सन खाती र हास्य कलाकार मनिष घिमिरेले थप मनोरञ्जन प्रदान गरेका थिए ।

नृत्य प्रतियोगितामा पञ्चमूनिदेव माध्यमिक विद्यालयको पूजा भुजेलको समूह प्रथम भयो ।

यस्तै, दमौलीको दिलु गुरुङको समूह दोस्रो, पञ्चमुनिदेव माध्यमिक विद्यालयको शेरबहादुर क्षेत्रीको समूह तेस्रो र सान्त्वना सरस्वती नमूना माध्यमिक विद्यालयको प्रविना हमाल र आस्मा आलेको समूह र ज्ञान बगैचा बोर्र्डि·को समूह भयो ।

११ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथमले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । सान्त्वना  दुवै समूहले एक हजार रुपैयाँ प्राप्त गरे। सहभागी सबै समूहलाई पाँच पाँच सय र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता निर्णायकमा सर्जन थापा र प्रकाश भुजेल थिए ।

आयोजक संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष चिरञ्जीवी रेग्मी र महासचिव वर्मकुमार श्रेष्ठ र रेडियो ढोरबाराहीकी स्टेशन म्यानेजर सिर्जना रानाले सञ्चालन गरेका थिए ।

- अादर्श समाज सम्वाददाता