लोकदोहोरी हेमजा इकाइ प्रथम

हेमजा, ८ भदौ। विष्णुपादुका युवा क्लबको संयोजन तथा स्थानीय आमा समूहको आयोजनामा बिहीबार भएको खुला तीज गीत प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान हेमजा इकाइ प्रथम भएको छ।

१४ समूहलाई पछि पार्दै हेमजा इकाइ प्रथम भएको हो। प्रतियोगितामा कामधेनु महिला कृषक समूह द्वितीय, माछापुच्छे्र सेवा समाज तृतीय, राधाकृष्ण आमा समूह र नवजागरण आमा समूह सान्त्वना भए।

प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १५ हजार, १२ हजार, नौ हजार र पाँच हजार साथमा प्रमाणपत्र पुरस्कार हात पारेका छन्।

त्यस्तै, प्रतियोगितामा स्नो भ्यु बोर्र्डिङ स्कुल नृत्य तथा शान्ति आमा समूह भेषभूषा विधामा उत्कृष्ट भए।

प्रतियोगितामा श्रीराम अधिकारी, प्रमिला लम्साल र कृष्णप्रसाद पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

महिला रसीकस्सीतर्फ राधाकृष्ण आमा समूह प्रथम भएको थियो। त्यस्तै उत्कृष्ट दर्शक नृत्यतर्फबाट विष्णु कुँवर र प्रविना बास्तोला पुरस्कृत भए।कार्यक्रमबीच मिस हेमजा एन्जिला श्रेष्ठलाई सम्मान पनि गरिएको छ।

गोलाप्रथाबाट प्रमुख अतिथि बनेकी पार्वती थापाले हरितालिका तीजको महत्वमाथि प्रकाश पार्दै यसलाई दिदीबहिनीको दुःखसुख साट्ने पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिइन्।

त्यस अवसरमा वडा अध्यक्ष शोभाकर तिम्सिना, नागरिक मञ्चकी संयोजक रमा त्रिपाठी, चेतनशील आमा समूहकी अध्यक्ष लक्ष्मी तिमिल्सिनालगायतले पनि भनाइ राखेका थिए।

संयोजक सिर्जना सापकोटाको अध्यक्षतामा भएको उक्त प्रतियोगिताको अमृता अधिकारी र भगवती बजगाईले संयुक्त सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता