आजदेखि प्रधानमन्त्री भारत भ्रमणमा

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबारबाट मित्रराष्ट्र भारतको भ्रमणको लागि नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्री देउवा बुधबार बिहान ९ बजे नेपाल यएरलाइन्सको विमानबाट नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ  ।

भारतमा रहदाँ देउवाले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेता, मन्त्रीहरुलगयतसंग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतको भ्रमणक्रममा ठोस प्रस्ताव केही नभए पनि विगतमा भएको सहमतिलाई कार्यान्वयन प्रगतिको समीक्षा गरिने जनाइएको छ ।

विभिन्न दलका सांसदले प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा कोशी बाँधका विषय मुख्य प्राथमिकतामा पर्नुपर्ने धारणा राखेका छन् । तराई-मधेसमा हालै भएको डुबानबाट ठूलो संख्यामा जनभनको क्षति भएकोले यसप्रकारको घटना आगमी दिनमा दोहोरिन नदिन भारत भ्रमणक्रममा दुर्इपक्षीय छलफल अघि बढाउन नेताहरुले सुझाएका छन् ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छिमेकी देश भारतले सीमा क्षेत्रमा एकतर्फी र अन्तर्राष्ट्रिय कानुनविपरीत बनाएका बाँध हटाउनु पर्ने बताएको छ । एमालेले बुधबारबाट शुरु हुने प्रधानमन्त्रीको भारत भ्रमणमा यसबारे कुराकानी गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव पनि दिएको छ ।

संसद्को मंगलबारको बैठकमा विशेष समय लिएर अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणबारे प्रमुुख प्रतिपक्षसँग छलफल नगर्नु र संसद्लाई पनि कुनै जानकारी नगराउनु दुःखद भएको बताए । अध्यक्ष ओलीले संसद्बाटै प्रधानमन्त्री देउवालाई आसन्न भारत भ्रमणमा उठाउनु पर्ने एजेण्डाबारे सुझाव दिए।

हालैमात्र आएको बाढी तथा डुवानले तराई मधेसमा ठूलो क्षति पुर्‍याएको भन्दै उनले अन्तर्राष्ट्रिय कानुनविपरीत र नेपालको समेत सहमति नलिएर एकलौटी ढंगले सीमानामा बाँध बाँधिएकाले यसको समाधानको उपाय खोज्न आग्रह गरे । नेपालको अहित हुने गरी एकतर्फीरुपमा बनेका बाँध हटाउने विषयमा पहल गर्न उनले प्रधानमन्त्री देउवालाई आग्रह गरे । विगतमा भएका सहमति कार्यान्वयनमात्र होइन, असमान सन्धी सम्झौता पुनरावलोकनका लागि पहल गर्न पनि ओलीले प्रधानमन्त्री देउवालाई सुझाव दिए ।

- अादर्श समाज सम्वाददाता