राष्ट्रिय भलिबलमा डायमण्ड र नेपाल प्रहरी सेमीमा

पोखरा, ६ भदौ।नवआदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा मंगलबारदेखि पोखरामा छैटौं रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।

लामाचौरमा सर्वाधिक सफल टिम साविक विजेता शिवम् न्यू डायमण्ड एकेडेमी समूह विजेता हुँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।

डायमण्डले उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । जितका लागि २५-१५, २५-१९ र २५-२० को स्कोर खडा भएको थियो । खेलमा डायमण्डका लागि स्पाइकर प्रतिभा मालीले उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन् । समूह ए मा दुर्इ टिममात्र हुँदा पुलिस पराजित भए पनि उपविजेता हुँदै अन्तिम चारमा पुग्न सफल भएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्रियस्तरका पाँच टिमको सहभागिता रहेको उक्त प्रतियोगिताअन्तर्गत मंगलबार नै समूह ‘बी’को पहिलो खेलमा पश्चिमाञ्चलले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, काठमाडौंलाई सोझो सेटमा पराजित गर्‍यो । उसले २५-१५, २५-१७ र २५-२३ सेटमा जावलाखेलाई पराजित गर्न सफल भएको हो ।

यस्तै, साविक उपविजेता नेपाल एपिएफ क्लब र पश्चिमाञ्चलको अन्तिम खेल वर्षाले बिथोलियो । एपिएफले १४-४ को अग्रता लिएको अवस्थामा भारी वर्षाका कारण खेल स्थागित हुन पुगेको आयोजक नवआदर्श सामुदायिक विकास समाजले जनाएको छ । उक्त खेल बुधबार हुनेछ । बुधबार नै पहिलो चरणअन्तर्गतको एपीएफ र जावलाखेलबीच समूहको तेस्रो खेल हुनेछ। यस्तै, समूह ए को विजेताले समूह बीको उपविजेता र समूह बीको विजेताले समूह ए को उपविजेतासँग सेमीफाइनल चरणको प्रतिस्पर्धा गर्नेछ। तीज महोत्सव अवसरमा भएको प्रतियोगिता विजेताले ७५ हजार, उपविजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेश्रोले २० हजार र सान्त्वनाले १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै, वेष्ट प्लेयर, वेस्ट क्वीकर, बेस्ट ल्रि्रो, वेस्ट स्पाइकर, वेस्ट ब्लकर, वेस्ट सर्भर, वेस्ट डिफेन्डर र वेस्ट कोचले पुरस्कारस्वरुप ट्रफी र घडी उपहार प्राप्त गर्नेछन् ।

इन्द्रराज्यलक्ष्मी मावि परिसरमा भएको खेल लिग कम नकआउटका आधारमा सञ्चालन भएको हो । चार हजार दर्शकले एकैसाथ भलिबल खेल हेर्न सकिने प्याराफिट निर्माण गरिएमा गाउँ गाउँबाट पनि दर्शक आएका थिए । उता, ४ नं प्रदेशस्तरिय नरबहादुर बानियाँ स्मृति सितेरियो कराँते प्रतियोगितामा आठ स्वर्ण र दुर्इ रजत पदकसहित कास्की च्याम्पियन बनेको छ। दुर्इ स्वर्ण र तीन रजतसहित गोरखा द्वितीय र दुर्इ स्वर्ण दुर्इ रजतसहित लमजुङ तृतीय बनेको छ। कराँतेको वेष्ट फाइटरमा महिलातर्फ कास्कीकी मोनु तामाङ र पुरुषतर्फ लमजुङका अंकीत गुरुङ भए।

बुधबार  अन्तरमावि लोक नृत्य प्रतियोगिता महोत्सवको मुख्य आकर्षण रहनेछ। प्रतियोगितामा १९ विद्यालयले प्रतिस्पर्धा गर्नेछ। टेलीश्रंृखला भद्रगोल युनिटको बले कक्रोचको बेजोड हास्यब्यङ्ग प्रहशन, चलचित्र ‘ए मेरो हजुर-२’ युनिटका कलाकार झरना थापा, साम्राज्ञीराज्यलक्ष्मी शाह, सलोन बस्नेत, सुनील थापाको साथमा लोक तथा दोहरीगायक-गायिका तुलसा जिसी, घनश्याम रिजाल, प्रदीप त्रिपाठी र चोलेन्द्र पौडेलको प्रस्तुति रहने प्रचार संयोजक गिरधारी शर्माले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता