संविधान संशोधन प्रस्ताव अस्वीकृत

काठमाडौँ, ५  भदौ । व्यवस्थापिका-संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ को प्रस्ताव दुर्इ तिहाइ मत नपुगी अस्वीकृत भएको छ ।

संसदमा सोमबार भएको मतदानमा संशोधनको पक्षमा तीन सय ४७ र विपक्षमा दुर्इ सय छ मतमात्रै परेको थियो ।

संसद्मा कायम पाँच सय ९२ जना सांसदमध्ये दुर्इ तिहाइ बहुमत नपुगेका कारण संविधान संशोधनको प्रस्ताव अस्वीकृत भएको सभामुख ओनसरी र्घर्तीले घोषणा गरेकी हुन् । लगत्तै एमालेसहितका विपक्षी सांसदहरुले टेबल ठोकेर खुसी मनाएका थिए ।

मतदानमा पाँच सय ५३ सांसदले भाग लिएका थिए । विधेयक पारित हुन ४८ मत पुग्न सकेन । बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुर्इ तिहाइ मत पुग्न सकेन ।

दुर्इ तिहाई बहुमतका लागि तीन सय ९५ जना सांसदको समर्थन आवश्यक पर्छ । करिब ९१ जना सभासदले समर्थन गरी ३५ महिना अगाडि घोषणा गरिएको संघीय लोकतान्त्रिक संविधानको दोस्रो संशोधन गर्न खोजिएको थियो ।

संविधान घोषणा र पहिलो संशोधनलाई बहिष्कार गरेका मधेसकेन्द्रित दलको नेतृत्व भएको १३ महिना लामो आन्दोलन क्रममा मुलुकले भारतीय ताकाबन्दीको सामनासमेत गर्नुपरेको तीतो यथार्थ छ । संविधान संशोधनको पक्षमा खसेको मत प्रधानमन्त्रीको निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवाले पाएको भन्दा कम हो । त्यसबेला पाँच सय ५८ अर्थात् अहिलेभन्दा पाँच सांसद बढी उपस्थित थिए र देउवाले तीन सय ८८ मत पाएका थिए । तर संशोधनको पक्षमा देउवाले पाएको भन्दा यो ४१ मत कम हो ।

यसरी हेर्दा, राप्रपामा देखिएको फुटको असर देखिएको छ । कमल थापा नेतृत्वको राप्रपाका १९ सांसदले संशोधन विधेयकको विपक्षमा मतदान गरेका छन् ।

यता, नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रस्ताव अस्वीकृत भएपछि विभिन्न राजनीतिक दलले मिश्रति प्रतिक्रिया दिएका छन् ।

व्यवस्थापिका-संसद्को बैठकबाट अस्वीकृत भएको उक्त विधेयकबारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयकलाई विशेष समितिमा लगेर छलफल गरौँ भनेर आफूहरुले पटक पटक जोड दिँदै आएको तर सरकारले पर्याप्त छलफल नगरेकाले अहिलेको परिणाम आएको टिप्पणी गरे यद्यपि परिणाम जस्तो आए पनि यसले संविधानलाई सर्वस्वीकृत तुल्याएको उनले उल्लेख गरे । नेता नेम्वाङले संशोधनको प्रस्ता अस्वीकार भएसँगै सरकारमाथि नैतिक प्रश्न खडा भएको पनि बताए। काँग्रेसका नेता डा प्रकाशशरण महतले अहिलेलाई अस्वीकृत भएको संविधान संशोधनको भावना सम्बोधन गर्नका लागि काँग्रेसका तर्फबाट फेरि प्रयास हुने बताए ।

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णे विधेयकको परिणाममाथि पार्टीको बैठक बसेर आधिकारिक धारणा ल्याइने बताए ।

कुन पक्षमा कति मत ?

संविधान संशोधन विधेयकका पक्षमा नेपाली काँग्रेसका ८२, राष्ट्रिय जनता पार्टीका २५, संघीय समाजवादी फोरम नेपालका १५, नेपाल लोकतान्त्रिक फोरमका १३, नेकपा (संयुक्त) का तीन मत परेको थियो । अन्य केही साना दलले पनि पक्षमा मतदान गरेका थिए ।

संशोधन विधेयकका विपक्षमा नेकपा -एमाले) का १८०, राप्रपा (प्रजातान्त्रिक) का १९, नेपाल मजदुर किसान पार्टीका चार, नेपाल परिवार दलका दुर्इ, राष्ट्रिय जनमोर्चाका तीन, मधेश समता पार्टीबहुजन शक्ति र बौद्धिक जनतान्त्रिकका एक-एक मत परेको थियो । नेकपा (माले) ले भने मतदान बहिष्कार गरेको थियो जसका पाँच सांसद छन् ।

- अादर्श समाज सम्वाददाता