लामाचौर तीज महोत्सव जारी

पोखरा, ५ भदौ। करुणानिधि एजुकेशन फाउण्डेशन लामाचौर तीज महोत्सव तथा अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको विजेता बनेको छ।

करुणानिधिले लमजुङको इशानेश्वर माविलाई २३-२५, २५-९, २५-१० र २५-१० ले हराउँदै प्रतियोगिताको विजयी भएको हो । जितसँगै करुणानिधिले २५ हजार रुपैयाँ’ र ट्रफी हात पारेको छ। त्यस्तै, उपविजेता इशानेश्वरले १५ हजार र ट्रफी हात पार्‍यो।

अन्तरविद्यालय जोडी नृत्य प्रतियोगितातर्फ लामाचौरको प्रगति बोर्र्डिङ स्कुल र इन्द्रराज्यलक्ष्मी मावि समान अंक प्राप्त गर्दै दुवै प्रथम भएको अर्थ संयोजक नवराज पौडेलले बताए

यसैगरी, स्व. नरबहादुर बानियाँ सितेरियो कराँतेतर्फ सेमीफाइनलसम्म सम्पन्न भएको छ। कराँतेको काँताको पुरुषतर्फ कास्कीका विष्णु नेपाली प्रथम, तनहुँका सुजन नेपाली द्वितीय, बागलुङका विवेक र्घर्ती र प्रज्ज्वल शेरचन तृतीय भए। महिलातर्फ कराँते कातामा कास्कीकी बिमला नेपाली प्रथम, लमजुङकी अनिता थापा द्वितीय र तनहुँकी पूजा कुमाल र बागलुङकी सनया साहनी तृतीय भए।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पाँच दिनसम्म चल्ने महोत्सवमा सोमबार गीत संगीततर्फ गायिका कोमल वली, राजन कार्की, शंकरविरही गुरुङ, सरस्वती लामिछाने, मञ्जु बिक, चोलेन्द्र पौडेललगायत कलाकारको बेजोड प्रस्तुति थियो।

मंगलबार प्रकाश सपूत, माया गुरुङ, सीता केसी, रामजी पौडेल र चोलेन्द्र पौडेलको प्रस्तुति तथा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिताको साथमा विविध सांस्कृतिक कार्यक्रम हुने प्रचार संयोजक गिरधारी शर्माले जानकारी दिए।

यसैबीच, नवआदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा मंगलबारदेखि पोखरामा छैटौं रेडबुल राष्ट्रिय महिला भलिवल प्रतियोगिता शुरु हुँदैछ ।

प्रतियोगितामा साविक विजेता शिवम न्यू डायमण्ड एकेडेमी, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी पाँच टिम प्रतिष्पर्धामा उत्रिनेछन्।

उद्घाटन खेलमा बिहान ११ बजे समूह एमा परेका डायमण्ड र नेपाल पुलिसबीच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले बताए । त्यसअघि पश्चिमाञ्चल र जावलाखेलबीच प्रतिष्पर्धा हुनेछ ।

विजेताले ७५ हजार, उपविजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेश्रोले २० हजार र सान्त्वनाले १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै, वेष्ट प्लेयर, वेस्ट क्वीकर, बेस्ट ल्रि्रो, वेस्ट स्पाइकर, वेस्ट ब्लकर, वेस्ट सर्भर, वेस्ट डिफेन्डर र वेस्ट कोचलाई पुरस्कारस्वरुप ट्रफी र घडी उपहार प्राप्त गर्नेछन् ।

लिग कम नकआउटका आधारमा खेल सञ्चालन हुनेछ । पहिलो संस्करण एपीएफले जितेकोमा बाँकी सबै संस्करणमा डायमण्डको लगातार जित निस्केको छ । गत वर्ष फाइनलमा एपीएफलाई ३(० को सोझो सेटमा पराजित गर्दै डायमण्डले जीत कायम राखेको हो ।

- अादर्श समाज सम्वाददाता