देवीस्थान भजन समूह प्रथम

पोखरा, ५ भदौ । देवीस्थान भजन समूह पोखरा २५, हेमजा खुल्ला तीज गीत प्रतियोगिता-२०७४ मा प्रथम भएको छ ।

रेडियो हेमजा ८८.५ मेगाहर्जद्वारा आयोजित उक्त प्रतियोगितामा १७ समूहलाई पछि पार्दै देवीस्थान भजन समूह प्रथम हुन सफल भएको हो ।

भारतीय भूपू सैनिक कल्याणकारी समिति, हेमजाको सहआयोजनामा सम्पन्न उक्त प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान इकाइ कमिटी हेमजा द्वितीय, गौरीशंकर आमा समूह हेमजा तृतीय र कमलजैशी आमा समूह सान्त्वना भए।

प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले पुरस्कारवापत क्रमशः २० हजार, १५ हजार, १० हजार र सात हजार साथमा प्रमाणपत्र पाए ।

यस्तै, प्रगतिशील आमा समूह शब्द चयनमा उत्कृष्ट र अभियान महिला समूह नृत्य तथा अमरसिंह दृष्टिविहीन समूह भेषभूषामा उत्कृष्ट भयो । प्रतियोगिता उद्घाटन गर्दै पर्यटन व्यावसायी गोमा अधिकारीले तीज सर्न्दर्भमा यस्ता प्रकृतिको कार्यक्रम आयोजना गरि रेडियोले महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरिन् ।

वडा नं. २५ का वडा अध्यक्ष शोभाखर तिम्सिनाले रेडियो वृत्ति विकासका साथै सही सूचना प्राप्त गर्ने नागरिकको अधिकार प्रवर्द्धनका खातिर एक लाख रुपैयाँ सहयोग गर्ने उद्घोष गरे ।

स्वास्थ्य बिमा कार्यक्रम कास्कीका रामचन्द्र बरालले चार्डपर्व मनाउँदै गर्दा आफ्नो स्वास्थ्यप्रति सचेत रहन सुझाव दिए । रेडियो हेमजाका अध्यक्ष अरुणस्तोम अधिकारीले सामाजिक जागरणमा रेडियो निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

उपाध्यक्ष एवं प्रबन्ध निर्देशक अर्जुन पौडेलले रेडियो सञ्चालनमा कैयन कठनाइ रहे पनि सामाजिक सचेतना अभिवृद्धिमा आ-आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरे। कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारी, कोषाध्यक्ष तुलसा जिसी, लोकगायक जीवन दाहाललगायत विभिन्न हास्य कलाकारको प्रस्तुति थियो ।

- अादर्श समाज सम्वाददाता