खुला गजल वाचनमा अन्जान प्रथम

साहित्य देखाउन नसकिने कमाई : बाबा

पोखरा, ५ भदौ। १५१ औं मोती जयन्तीको अवसरमा शुक्लागण्डकी एफएम र शुक्ला साहित्य संगम तनहुँको आयोजनामा भएको खुला वाचन प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा २५ जनालाई पछाडि पार्दै अन्जान यात्री प्रथम हुन सफल भएका छन्। यस्तै, तोया गैह्रे निदोर्षले द्वितीय, दीपकराज त्रिपाठीले तृतीय, शान्ता बास्तोला र काजी सुनारले तृतीय स्थान प्राप्त गरे।

विजेतालाई क्रमशः पाँच हजार, तीन हजार, एक हजार र पाँच सय नगदसहित मायाको चिनो र प्रमाणपत्र प्रदान गरियो। विजेता प्रतियोगीलाई प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह बाबा, रेडियोका अध्यक्ष नारायण श्रेष्ठ, साहित्यकार शेषमणि आचार्यले नगद, मायाको चिनो र नगद प्रदान गरे।

प्रमुख अतिथि बाबाले साहित्य मानिसको अभिन्न पाटो भएको उल्लेख गर्दै जीवनमा साहित्यिक यात्रा भनेको देखाउन नसकिने कमाई भएको बताए।

साहित्यकार शेषमणि आचार्यले शुक्लागण्डकी क्षेत्र साहित्यको उर्वरभूमि भएको बताउँदै रेडियोले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गरे। साहित्यकार असफल गौतमले राज्यले यथेष्ट मात्रामा साहित्यिक क्षेत्रको प्रवर्द्धन गर्न नसकेको धारणा व्यक्त गरे।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर अध्यक्ष खेमराज खनाल, सेतीकाली साहित्य संगमका अध्यक्ष नारायणकैलाश सिग्देल, रेडियोका स्टेशन म्यानेजर राजन उपाध्यायलगायतले बोलेका थिए।

गजलकार जनार्दन दाहाल र तीर्थमान अथाह सागर प्रतियोगिताको निर्णायक रहेका थिए। दाहालले मापनका सीमा र सागरले नतिजा सार्वजनिक गरेका थिए। कार्यक्रममा विभिन्न व्यक्तित्वद्वारा साहित्यिक तथा सांगीतिक प्रस्तुति राखिएको थियो।

शुक्लागण्डकी एफएमका अध्यक्ष नारायणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शुक्लागण्डकी एफएमका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठले स्वागत गरेका थिए।

उद्घाटन सत्रको कार्यक्रम रेडियोका सचिव ज्योति श्रेष्ठ र दोस्रो चरणको कार्यक्रम संयोजक आनन्दसुन्दर श्रेष्ठले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता