रामबजारको कालिका मन्दिरमा तीज गीत हुने

पोखरा, ३२ साउन। तीजको अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा न. १०, १५ स्थित कालिका मन्दिर परिसर महिला समूहले खुला तीज गीत प्रतियोगिता गर्ने भएको छ।

कालिका मन्दिर सञ्चालक समितिको सहयोगमा भदौ ८ मा रामबजारस्थित कालिका मन्दिर परिसरमा प्रतियोगिता हुनेछ। प्रतियोगितालाई हिम श्री फुड्स प्रालिले प्रायोजन गरेको छ।

तीजको मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको महिला समूहकी अध्यक्ष माया केसीले जानकारी दिइन्।

कला, धर्म, संस्कृतिको संरक्षण र सर्म्वर्द्वन, महिलामा निहीन अन्तर्निहीत प्रतिभा प्रष्फुटन र ‘संघसंस्थाबीच भातृत्व विकासका लागि समेत प्रतियोगिता महत्वपूर्ण हुनेछ अध्यक्ष केसीले भनिन् – ‘प्रतियोगिता सफल बनाउन सबैको सहयोग अपेक्षा गरेका छौ।’

प्रतियोगितामा पहिलो हुने समूहलाई २५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार र सान्त्वना हुनेलाई पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ।

त्यस्तै, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नृत्य (सहभागी) र उत्कृष्ट नृत्य -दर्शक) लाई एक हजार पाँच सय/एक हजार पाँच सय प्रदान गरिनेछ।

प्रतियोगिता सम्पन्न गर्न तीन लाख ३० हजार पाँच सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

कार्यक्रम सम्पन्न गर्न समाजसेवी सूर्यबहादुर केसीलाई संरक्षक बनाइएको छ। महिला समूहकी अध्यक्ष माया केसीको संयोजकत्वमा मूलआयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ।

जूना गुरुङको संयोजकत्वमा आर्थिक, शकुन्तला बरालको संयोजकत्वमा स्वागत सम्मान, मालिका तिम्सिनाको संयोजकत्वमा प्रचारप्रसार, कुमारी गुरुङको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ।

साथै, चोकमाया गुरुङको संयोजकत्वमा जलपान, मालिका तिम्सिना -भुषाल)को संयोजकत्वमा टिम दर्ता/ कार्यक्रम सञ्चालन, सुरज बरालको संयोजकत्वमा सामान खरिद, रानी गुरुङको संयोजकत्वमा खाजा व्यवस्थापन र माधव बरालको संयोजकत्वमा बाद्यवादन उपसमिति गठन गरिएको छ।

- अादर्श समाज सम्वाददाता