पर्यटकीय होटलमा १५ करोडको क्षति

चितवन, ३१ असार। तेस्रो पर्यटकीय गन्तव्य चितवनमा बाढीका कारण पर्यटकीय होटलमा मात्रै १५ करोड रुपैयाँको क्षति भएको छ। बाढीले रेष्टुरेण्ट व्यवसायमा ठूलो क्षति पुर्‍याएको छ भने होटलमा पनि सामान्य अवस्थामा फर्किन एक महिनाभन्दा बढी समय लाग्ने देखिएको छ।

क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष भेषराज दुवाडीका अनुसार बाढी आइरहेको समयमा रहेका छ सय पर्यटकमध्ये अधिकांंश विदेशी पर्यटक फर्किइसकेका छन् भने पछिल्ला दिनका बुकिङहरु रद्द गरिरहेका छन्। छिटफुटबाहेक विदेशी पर्यटक सौराहामा छैनन्।

सौराहामा रहेका एक सय १० वटा होटल डुवानमा परेको बताउँदै दुवाडीले पहिलो तलामा रहेका सम्पूर्ण सामग्री नष्ट भएको, बगैंचा नष्ट भएको, कम्पाउण्ड वाल भत्केको बताउँदै सामान्य अवस्थामा ल्याउन कम्तीमा एक महिना लाग्ने बताए।

उनले भने-‘९० प्रतिशत होटल एक महिनाभित्र सामान्य अवस्थामा ल्याउन सकिन्छ।’ उनले नदी किनारमा रहेका रेष्टुरेण्टहरुको भने पूर्ण क्षति भएकाले संचालनमा ल्याउन छ महिना लाग्ने बताए। सौराहामा अहिले बाढीबाट भएको क्षति हेर्न जाने स्थानीयको मात्रै भिड देखिन्छ। विदेशी पर्यटक नगण्य मात्रामा छन्। सौराहाको राप्ती किनारा क्षेत्र खण्डहर बनेको छ। त्यहाँ रहेका होटल तथा रेष्टुरेन्टहरु सबै राप्ती नदीले आफैसँग लिएर गएको छ। ति रेष्टुरेन्टहरु कहाँ थिए, ति कस्ता थिए भन्ने कुरा अब सौराहावासीका लागि विगत बनेको छ।

अधिकाशं होटलका पाहुना बस्ने तल्लो तलाका कोठाहरु हिलो लेदोले भरिएको छ।  होटलका कोठामा तीन फिटसम्म र जमिनबाट छ फिटसम्म पानीको ताल परेको थियो। अहिले सौराहाका अधिकांश होटल सरसफाइ गर्न थालिएको छ। होटलका मजदूर र अन्य कामदार सरसफाइमा जुटेका छन्। यत्रतत्र बाढीले बगाएका सवारीसाधान देख्न सकिन्छ। यसैबीच, क्षेत्रीय होटल संघ सौराहाले मंगलबार विज्ञप्ति प्रकाशित गरी पर्यटकीय होटलमा १५ करोड रुपैयाँको क्षति भएको जनाएको छ। विज्ञप्तिमा होटलका विस्तारा, कटेज, कार्पेटदेखि गाडी, ग्यास सिलिण्डर, मोबाइल, गोदामका खाद्यान्न, ल्यापटप, कम्प्युटर, वाल कम्पाउण्ड, बगैंचालगायतमा क्षति पुगेको उल्लेख छ।

सौराहाका एक सय १० होटलमा मात्रै १३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको विज्ञप्तिमा जनाइएको छ। संघले जारी गरेको विज्ञप्तिमा होटलमा रहेका पर्यटकको सक्रियता र स्थानीय होटल व्यवसायीको सचेतनाका कारण मानवीय क्षति हुन नपाएको उल्लेख छ। विज्ञप्तिमा भूकम्प, नकाबन्दी हुँदै नारायणगढ-मुग्लिन सडकको कारण पर्यटकमा भएको कमीले आर्थिक भार व्यहोरिरहेका व्यवसायीलाई बाढीले थप क्षति पुर्‍याएको उल्लेख गर्दै व्यवसायीको बैंक ऋणको व्यजदरमा सहुलियत दिन सरकारसँग माग गरिएको छ।

जिल्लाका मेघौली, जगतपुर, पटिहानी, सौराहा क्षेत्रमा पर्यटकीय होटल रहेका छन्। नदी किनारमा रहेका ती अधिकांश होटल बाढीले प्रभावित बनेका थिए।

- अादर्श समाज सम्वाददाता