बाढीपहिरोले ३० को मृत्यु

काठमाडौँ, २८ साउन । शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट ३० जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार/चार जना, मोरङ, बाँके र पाँचथरमा तीन/तीन,  बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक/एक जना गरी ३० जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ । बाढी पहिरोले बेपत्ता तथा विस्थापित हुनेको संख्या पनि बढ्दो छ । पूर्ण विवरण नआइसकेकोले मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

ज्यान गुमाउनेमा सबैभन्दा बढीपूर्र्वी जिल्लाका छन् । पूर्वका चार पहाडी जिल्ला सप्तरी, सुनसरी, मोरङ  र झापा तथा पहाडी जिल्ला तेह्रथुम र पाँचथरमा मात्र अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । बाँकी मध्य र पश्चिम क्षेत्रका छन् ।

यसैबीच, गृहमन्त्री जनार्दन शर्माले देशैभरि बाढी पहिरोका कारणले मृत्यु हुनेप्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तीव्र पार्न सुरक्षा निकायलाई निर्दैशन दिए । गृह मन्त्रालयमा शनिबार पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा लैजानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिए । आफू बाढी प्रभावित जिल्लामा जान चाहेपनि मौसमका कारण जान नपाएको उनले बताए ।

गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोलीलाई तत्काल उद्धार कार्यमा परिचालित गर्न आफूले यसअघि नै निर्दैशन दिइसकेको तथा नेपाली सेनासमेत सक्रिय रुपमा उद्धारमा जुटिरहेको जानकारी दिए । उनका अनुसार राहत र उद्दारका लागि हेलिकप्टरको समेत प्रयोग भइरहेको छ । उनले डुबानमा परेका जनता, राजनीतिक दल, जिल्ला प्रशासनलगायत सम्बन्धित निकायसँग प्रत्यक्ष सर्म्पर्कमा रहेको बताए।

यसैबीच, सरकारले बाढी पहिरोको घटनामा परेकाको राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

शुक्रबारदेखिको निरन्तर वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री, रक्षामन्त्री, चारवटै सुरक्षा निकायका प्रमुखसहितको आपत्कालीन बैठकले राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्रको प्रभावकारी परिचालन गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री देउवाले राहत तथा उद्धारमा कुनै कसर बाँकी नराख्न मन्त्री र सम्बन्धित निकायलाई निर्दैशन दिए ।

पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाहीलगायतका जिल्लामा अबिरल वर्षात् भएको कारणले हेलिकप्टर उड्न नसकेको तथा झापाको झापा गाउँपालिकामा उक सय ३३ जना मानिस एक घरमा गएरातिदेखि उद्धारको पर्खाइमा रहेको र निरन्तर डुङ्गाबाट उद्धार गर्ने प्रयास गरिए पनि नसकिएकाले नेपाली सेनाले प्रयत्न जारी राखेको छ । त्यसैगरी सप्तरीका कतिपय स्थानमा संकटमा रहेका जनतालाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको गृहमन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री जनार्दन शर्मा, रक्षामन्त्री भीमसेनदास प्रधान, दुवै मन्त्रालयका सचिवसहित चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता थियो ।

- अादर्श समाज सम्वाददाता