नेपाल शिक्षक संघ कास्कीमा भट्टराई

पोखरा, २७ साउन। नेपाली काँग्रेसनिकट नेपाल शिक्षक संघ कास्कीको अध्यक्षमा रमेश भट्टराई चयन भएका छन्।

संघ कास्कीको शनिवार भएको आठौं अधिवेशनले उपाध्यक्ष बाहेक सबै पदमा निर्विरोध चयन गरेको हो।

समितिको उपाध्यक्षमा महिलातर्फ डाल्डादेवी भुजेल, सचिव राजु क्षेत्री, अर्थ सचिव श्रीकान्त आचार्य, सहसचिव तारानाथ भण्डारी, महिला सहसचिव सीतादेवी भण्डारी, अर्थ महिला सहसचिव तुलसी बराल, समावेशी सहसचिव देवीप्रसाद गौतम, समावेशी सहसचिव सावित्रा गुरुङ, महिला सदस्य जुनकिरी दर्जी, सत्यदेवी शर्मा, जानुकादेवी पौडेल तथा सदस्यहरुमा कलाधर सापकोटा, गोविन्दप्रसाद अधिकारी, सूर्यशरण ढुंगाना, लोकचन्द्र खनाल तथा मनोनित सदस्यमा श्रीधर आचार्य रहेका छन्। उपाध्यक्ष भने पछि चयन गरिने संघले जनाएको छ।

प्रदेश प्रतिनिधि पितृराज पण्डित, लोकनाथ पौडेल, प्रकाश अधिकारी, गोविन्दप्रसाद सिग्देल, विष्णुप्रसाद तिवारी, गौरीदेवी पौडेल, सन्ध्याकुमारी पाठक, संगीता पोखरेल तथा संघीय प्रतिनिधिमा शिरोमणि लामिछाने, मित्रलाल सापकोटा, गोविन्दप्रसाद पौडेल, मनिराम कडेल, यमप्रसाद तिमिल्सिना, विजयालक्ष्मी कोर्इराला र सीतादेवी थापा चयन भए।

यसअघि अधिवेशन उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले मुलुकका हरेक राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए। उनले शिक्षकका अनेकौं गुनासो रहेको उल्लेख गर्दै नेपालमा शिक्षक पेशालाई अभिषापका रुपमा लिइनु नै दुःखद रहेको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रमक बन्दै उनले ओलीले शिक्षकका बारेमा हालै व्यक्त गरेको भनाइ दुःखद रहेको बताए। ‘ओली १० थरीका औषधि खाने गर्नुहुन्छ। त्यसैले उहाँको बोलीमा सन्तुलन छैन। म अरु त भन्दिनँ तर ओली बिरामी हो’-ओलीको स्वास्थ्य अवस्थाप्रति व्यङ्य गर्दै घिमिरेले भने। शिक्षण पेशा निकै पुण्यको काम हुनुपर्नेमा कसैले त्यस्तो नठानेको उनको भनाइ थियो।

नेता घिमिरेले मुलुक संक्रमणकालमा रहेको र शिक्षा क्षेत्रमा झनै संक्रमणकालीन अवस्था देखा परेको बताए। अब केन्द्रदेखि स्थानीय तह नगरपालिका र गाउँपालिकासम्म कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी सरेको भन्दै उनले यो अवस्थामा सबै अलमलको अवस्था रहेको बताए।

नेपाली काँग्रेसकी सांसद शारदा पौडेलले शिक्षकका हकहितका विषयमा कानुन संशोधनमा पहल गर्ने बताउँदै संसदमा शिक्षकको आवाज आफू बोल्ने बताइन्। संघीय संरचनामा गईसकेपछि सोहीअनुरुप परिवर्तनको खाँचो औंल्याउँदै उनले शिक्षा ऐन विपरित सरकारले स्थानीय तहमा आदेश जारी गर्दा दुविधा उत्पन्न भएको बताइन्।

कास्कीका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले शिक्षक आफै बलियो बन्नुपर्ने बताए।

नेपाल शिक्षक महासंघका राष्ट्रिय उपाध्यक्ष किशोरदत्त बरालले आम शिक्षकका माग अझै राज्यले नसुनेकोमा गुनासो गर्दै यसप्रति गम्भीर बन्न आग्रह गरे।

अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवरले नयाँ संविधानले स्थानीय तहमा शक्ति विकेन्द्रकरण गरेर कक्षा १२ सम्मको शिक्षा स्थानीय तहले नै सञ्चालन गर्ने भनेपनि यसको नीति, स्रोतका बारेमा अनविज्ञ नै रहेको उल्लेख गरे।

आफ्नो पार्टीबाट बनेका शिक्षामन्त्री गोपालमान श्रेष्ठ शिक्षाको अवस्थाप्रति चिन्तित नहुने, कार्यक्रममा निदाएर बस्ने अवस्था आफूले थाहा पाएको भन्दै उनले यसबारे पार्टीको ध्यानाकर्षण गराए।

काँग्रेस कास्कीका पूर्व सचिवसमेत रहेका उनले काँग्रेस काँग्रेस जस्तो हुनुपर्ने र शिक्षक शिक्षक जस्तो हुनुपर्ने उल्लेख गरे। केन्द्रीय नेताहरुमा स्पष्ट भिजन र विचार नहुँदा अहिले पार्टीरुमल्लिरहेको उल्लेख गर्दै अब नसुध्रिए काँग्रेसले झन् ठूलो क्षति ब्योहोर्र्नुपर्ने बताए।

नेवि संघका केन्द्रिय सदस्य भानु ढकालले शिक्षकले गाउँगाउँमा काँग्रेस बचाएको बताए। उनले एमालेले काँग्रेस हाफ, माओवादी पत्तासाफ भनेको चरितार्थ भइरहँदा शिक्षक संघको अधिवेशन जस्तो कार्यक्रममा पार्टीबा एउटै पदाधिकारी उपस्थित नहुनु दुःखको विषय भएको बताए।

संघ कास्कीका अध्यक्ष शिरोमणि लामिछानेले शिक्षकको हकहित, अस्थायी शिक्षकको समस्या समाधान, पेशागत मागहरु सम्बन्धमा राज्य उदासीन बनेको उल्लेख गर्दै विगतमा भएका सहमति सम्झौता कार्यान्वयनका लागि आग्रह गरे। उनले नेपाली काँग्रेसकै सरकार भए पनि, शिक्षामन्त्री काँग्रेसकै भए पनि कहिल्यै शिक्षकका मागप्रति उदार नभएको तीतो पोख्दै शिक्षकहरुको मर्यादाक्रम निर्धारणमा आँखा चिम्लेकोमा असन्तुष्टि जनाए।

सो अवसरमा काँग्रेस कास्कीका सदस्य नवीन सिग्देल, शैक्षिक तालिम केन्द्र पोखराका प्रमुख केशरीरमण न्यौपाने, शिक्षक महासंघका राष्ट्रिय सदस्यद्वय वसन्तराज पाण्डे र भरत लम्साल, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष कुलदेवी बराल, संघका पूर्व अध्यक्ष मित्रलाल सापकोटा, पूर्व अध्यक्ष विजयराज भण्डारी, संघ तनहुँका पूर्व अध्यक्ष विजयराज पौडेल, संघ बाग्लुङ अध्यक्ष उमाकान्त पौडेललगायत बोलेका थिए।

उक्त कार्यक्रममा शिक्षक संघ कास्कीमा रहेर दोस्रो जनआन्दोलन तथा शिक्षक आन्दोलनमा योगदान दिने व्यक्तिलाई दोसल्ला ओर्ढाई सम्मानपत्रका साथ सम्मान गरिएको थियो। सम्मानित हुनेमा शिरोमणि लामिछाने, मित्रलाल सापकोटा, विजयराज घण्डारी, पुरुषोत्तम सापकोटा, विनोदराज सुवेदी, खिमलाल तिमिल्सिना, विष्णु पौडेल, विश्वराज बास्तोला, श्रीराम लम्साल छन्।

यस्तै, कास्कीमै काँग्रेसबाट स्थानीय तहको प्रमुखमा निर्वाचित एकमात्र अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरलाई सम्मान गरिएको थियो। संघ कास्कीका अध्यक्ष लामिछानेले अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विजयालक्ष्मी कोइरालाले स्वागत तथा सचिव मणिराम कँडेलले सञ्चालन गरेका थिए ।

कार्यक्रममा हरिप्रसाद पौडेल र डाल्डादेवी भुजेलले गीत प्रस्तुत गरेका थिए।

- अादर्श समाज सम्वाददाता