रोजगारी, उद्यमशीलता र सीप विकासमा जोड

पोखरा, २८ साउन।’शान्ति र समृद्धिमा युवा’ भन्ने नाराका साथ पोखरामा शनिबार विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ।

दिवस अवसरमा जिल्ला समन्वय समितिको समन्वयमा जिल्ला युवा समितिको कार्यालय कास्कीले नेपालको वर्तमान अर्थ व्यवस्था र युवा विषयक अन्तक्रिर्या कार्यक्रम गरेको छ।

अन्तक्रिर्यामा बोल्ने वक्ताले राष्ट्रिय यु’वा नीति २०७२ र युथ भिजन २०२५ मा समेटिएका युवाका विषय कार्यान्वयनमा जोड दिँदै युवा शक्तिलाई रोजगारी, उद्यमशीलता र सीप विकासको अवसर दिनुपर्नेमा जोड दिए। उनीहरूले युवा भनेको वर्तमानकै चलायमान शक्ति भएको उल्लेख गर्दै नेपालको आर्थिक समृद्धिको लागि कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा प्रचूर सम्भावना पहिचान गरी लगानीको वातावरण मिलाउनुपर्ने बताए।

ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गर्दै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले मुलुकमा सम्भावना प्रशस्त रहेको बताए। उनले युवाशक्तिलाई त्यस क्षेत्रमा अग्रसर गराई आर्थिक समृद्धिमा लाग्नु अबको आवश्यकता भएको उल्लेख गरे। नेपालको तीनखम्बे अर्थ व्यवस्थामा निजी क्षेत्र, सहकारी र राज्य रहेको कुरा संविधानले समेत निर्दिष्ट गरिसकेको उनले बताए। उत्पादन र वितरणको असमान पाटो हटाउनुपर्ने भन्दै उनले सानो सानो पुँजीको श्रोत पहिचान गरी समान सहभागितामा जोड दिए।

अन्तक्रिर्याका चार की नोट स्पिकरको रुपमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा लेखनाथ भट्टराई, ओम डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्ल, कृषि विकास बैंक पृथ्वीचोक शाखाका प्रमुख रुद्रकुमार श्रेष्ठ र युवा स्वरोजगार कोषका सदस्यसचिव रमेश सिके डाँकिएका थिए। कार्यक्रममा उनीहरूले युवाको विभिन्न जिज्ञासाको जवाफ दिए।

सहप्राध्यापक भट्टराईले शिक्षा, स्वास्थ्य, रोजगार, जनशक्तिको उत्पादनमा राज्यले लगानी गर्नुपर्ने सुझाए। नेपालको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सले २९.६ प्रतिशत टेवा दिएको तथ्यांक पस्किदै उनले विश्वमै रेटि्यान्सको भरमा नेपाल छैटौं स्थानमा रहेको जानकारी दिए। वाषिर्क पाँच लाख १२ हजार जनशक्ति श्रम बजारमा प्रवेश गर्ने जानकारी दिँदै जतिशक्ति युवा शक्तिलाई स्वदेशमै रोजगारको ढोका खोल्नुपर्ने बताए।

ओम डेभलपमेन्ट बैंकका नायव कार्यकारी अधिकृत बुद्धि मल्लले ७.२ को आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्दै समृद्धिको बाटोमा जान युवा जनशक्तिको खाँचो रहेको औल्याए। आव २०७३/०७४ को असार मसान्तसम्म नेपालमा एक सय ६९ बंैक तथा वित्तीय संस्था रहेको जानकारी दिँदै उनले बैंकका झण्डै एक हजार शाखा अब स्थानीय तहसम्म पुग्ने भएकोले अबको ५ वर्ष नेपालको समृद्धिमा प्रचूर सम्भावना रहेको बताए।

कृषि विकास बैंक पृथ्वीचोक शाखाका प्रमुख रुद्रकुमार श्रेष्ठले ५० वर्षअघिसम्म छिमेकी मुलुकको प्रतिव्यक्ति आय नेपाल बराबर रहेकोमा अहिले आकाश जमिनको फरक रहेको बताए। उनले उद्यम गर्न सिक्नुपर्ने भन्दै उनले जहाँ गए पनि सिस्टम विकास गर्नुपर्नेमा जोड दिए। उनले कृषि विकास बैंकले ५ प्रतिशतमात्र व्याज अनुदानमा कृषि ऋणको सुविधा दिएको जानकारी दिँदै युवालाई स्वरोजगारमा लाग्न प्रेरित गरे।

युवा स्वरोजगार कोषका सदस्यसचिव रमेश सिकेले युवालाई बिना धितो २ लाख रुपैयाँसम्म ऋण सुविधा दिँदै आएकोले यसबाट लाभ लिन सुझाव दिए। उनले युवाशक्तिले चाहेमा जे पनि गर्न सक्ने भन्दै युवाशक्तिलाई राज्यले पहिचान गर्न ढिलो गर्नु नहुने बताए।

जिल्ला युवा समिति अध्यक्ष आशीर्वाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका कार्यालय प्रमुख नगेन्द्रराज पौडेलले र सञ्चालन जिल्ला समन्वय समितिका सामाजिक शाखा प्रमुख तथा जिल्ला युवा समितिका सदस्य अर्जुन न्यौपाने र रोट्रयाक्ट क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष सुभाष मल्लले संयुक्त गरेका थिए।

संयुक्त राष्ट्र संघको ४५ औँ साधारणसभाले सन् १९९९ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो।  नेपालमा कुल जनसंख्याको ४०.३ प्रतिशत युवा छ। वर्षेनी पाँच लाख ३८ हजार युवा रोजगारीका लागि विभिन्न मुलुक जाने गरेको सरकारी तथ्यांक छ।

- अादर्श समाज सम्वाददाता