धारामा धमिलो पानी

पोखरा, २६ साउन । बर्खा लागेपछि पोखरामा सँधैको समस्या छ, धारामा सङ्लो पानी नआउने। यसै पनि पोखराका उपभोक्ताले शुद्ध पानी प्रयोग गर्न पाएका छैनन्, त्यसमाथि बर्खामा आउने पानी झनै फोहोर हुन्छ।

पछिल्लो दुर्इ दिनयता प्रयोग नै गर्न नमिल्ने खालको गेग्रयानसहित कालो पानी आउन थालेको छ। खानेपानीको रुपमा पोखरेलीले खोलाको पानी प्रयोग गर्न बाध्य छन्। वर्षाको बेला खोलामा बाढी आउँदा सिधैँ त्यो पानी घरका धारामा पुग्छ। यो समस्या पोखरेलीको वषौर्देखि यथावत छ । तर यसबारे सम्बन्धित निकायको चासो पुग्न सकेको छैन ।

अशुद्ध पानीले उपभोक्ताको स्वास्थ्यमा निकै ठूलो खेलवाड भएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला बताउँछन्। ‘नेपालभरिमै नाफा कमाउने संस्थान पोखरामात्रै हो। पोखराको नाफाले अरु संस्थानका कर्मचारी पालिएका छन्’-उनले भने-‘लेदो पानी आउनु संस्थानको कमजोरी हो। थ्रि्रयाउने प्लाण्ट नबाई नाफामात्रै खोजेर उपभोक्ताको अधिकार कुण्ठित गरिएको छ।’ उनले पोखरामा पानीकै कारण कुनै प्रकोप आए त्यसको पूर्ण जिम्मेवारी संस्थानले लिनुपर्ने बताए।

संस्थानकै कमजोरीले खानेपानी समस्या समाधान हुन नसकेको होटल व्यवसायीको भनाइ छ। ‘बिसौं वर्ष भैसक्यो पोखरामा संस्थानले पानी बाँडेको। सधँैको बर्खामा यस्तै हुन्छ’-पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने-‘पैसा तिरेपछि शुद्ध पानी पाउने हाम्रो अधिकार हो। त्यसको ग्यारेण्टी संस्थानले लिनुपर्छ।’

मर्दी खोलाको पानी सामान्य उपचारसमेत नगरी सिधैँ धारामा पठाउने गरिएको उपभोक्ताको आरोप छ। खोलामा बाढी आएकाले तत्काल कुनै सुधार नहुने खानेपानी संस्थान पोखराका निमित्त प्रमुख दिनेश्वर यादवले बताए। ‘खोलामा पहिरोसहित बाढी मिसिएको छ।

‘हामीसँग टि्रटमेण्ट प्लाण्ट नभएकोले खोलाको पानी क्लोरिन हालेर उपभोक्तालाई पठाउँछौं’-उनले भने-‘साउन र भदौ महिना सधँै यस्तै हो। यो अवस्था अझै ३-४ वर्ष रहन्छ।’

बढी धमिलो आउन थालेपछि अहिले संस्थानले केही समय थ्रि्रयाएर पानी वितरण थालेको छ। पानी शुद्धिकरणमा आफूहरु हाई अलर्ट रहेको यादव सुनाउँछन्। नयाँ प्रविधिमा पानी वितरणका लागि संस्थानले जापान सहयोग नियोग (जाइका) सँग खोनपानी प्रशोधनसम्बन्धी प्रोजेक्ट चलाउन लागेको छ। प्रोजेक्ट सञ्चालनका लागि गत पुषमा अर्थ मन्त्रालयले स्वीकृति पनि दिइसकेको छ। जाइकाले दिने चार अर्ब ९४ करोड रुपैयाँ’ अर्थ मन्त्रालयले सरसफाइ तथा खानेपानी मन्त्रालयलाई निकासा गर्न स्वीकृत गरेको हो। तीनवर्ष भित्रै काम सक्ने योजनासहित काम अघि बर्ढाईएपनि हालसम्म ठेक्का प्रक्रियासमेत शुरु भएको छैन।

संस्थानले पोखराका ३६ हजार बढी उपभोक्तालाई खानेपानी वितरण गर्छ। दैनिक चारदेखि पाँच करोड पानी वितरण भइरहेको यादवले जानकारी दिए। ‘पोखराको माग ६ करोड लिटर हो। अझै सबै उपभोक्तालाई पानी बाँड्न सकेका छैनौं’-उनी भन्छन्-‘बर्खामा पनि मुस्किलले पाँच करोड पानी वितरण हुन्छ। हिउँदमा त पानी नै पुग्दैन।’ धारामा धमिलो पानी बग्न थालेपछि प्रमुख जिल्ला अधिकारीले तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन्। ‘अहिले नै टि्रटमेण्ट प्लाण्ट बनाउने कुरा सम्भव छैन। तर सामान्य उपचार त गर्न सकिन्छ’-कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले भने-‘थ्रि्रयाएर भएपनि सङ्लो पानी वितरण गर्न निर्देशन गरिसकेको छु। अहिले केही सुधार भएको छ।’ थप सुधारका लागि शुक्रबार सरोकारवाला निकायबीच बैठक आयोजना गरेको उनले जानकारी दिए। पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले खानेपानी संस्थानसँग यस विषयमा छलफल भैरहेको बताए। उनले महानगरको स्वामित्व नरहेसम्म समाधान गर्न कठिनाइ भएको गुनासो गरे। ‘स्वामित्व हामीसँग छैन। धेरै काम हामीले गरिरहेका छौं’-उनी भन्छन्-‘पानी शुद्धिकरणका लागि पनि तत्काल बैठक बसेर समाधानका लागि पहल गर्छौ।’ दूषित पानीका कारण झाडापखला, हेपटाइटिस, जण्डिसलगायत रोग लाग्ने चिकित्सक बताउँछन्। उनीहरु पानीलाई पूर्ण प्युरिफाईड गर्न सुझाउँछन्। पोखरा क्षेत्रमा वितरण हुने पानी एक्वा ट्याव हालेर पनि प्रयोग गर्न नसक्ने खालको छ’-जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेशकुमार चापागाईँले भने-‘फिल्टरपछि पनि उमालेर पिउनुपर्छ।’

- प्रकाश ढकाल